• ८ भदौ २०८२, आइतबार

आज कुशे औँसी : बुवाको सम्मान र कुश भित्र्याइँदै

blog

कुशे औँसीको अवसरमा कुश राखन घरघरै पुगेकी ब्राहमण कन्यालाई शनिबार बिहान टीका लगाएर कुश भित्र्याउँदै बर्दीबास-३, गौरीडाँडाकी एक गृहिणी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 
बर्दीवास, भदौ ७ गते ।
भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व वैदिक सनातन परम्परा अनुसार आज (शनिबार) मधेश प्रदेशमा पनि मनाइँदै छ ।

यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने पवित्र कुश घर घरमा भित्र्याएर मनाइँदै छ । हिन्दूधर्ममा कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आज बुवाको मुख हेर्ने दिन पनि हो । काम विषेशले टाढा रहेका छोराछोरी आजको दिन बुवालाई भेट्न जाने परम्परा छ । यस अवसरमा छोराछोरीले बुवालाई मिठा परिकार खुवाउने, नयाँ वस्त्र पहिराउने र पिताप्रति यथोचित सम्मान भाव प्रकट गरिन्छ ।

पण्डित ईश्वर पोखरेलका अनुसार आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचि अनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास हाम्रो समाजमा रहिआएको छ ।

यस पर्वलाई परिवारका सदस्यहरूबिच भेटघाटको अवसरको रूपमा पनि लिइन्छ । विशेषगरी बुवाआमासँग समय बिताउने र आफन्तबिच आत्मियता बढाउने पर्वका रूपमा यसको महत्त्व छ ।

प्याकुरेलले भन्नुभयो, ‘‘हाम्रो संस्कृतिमा यस्ता चाडपर्वले पारिवारबिचको भावनात्मक सम्बन्धलाई निकट र बलियो बनाउँने भूमिका निर्वाह गरेका हुन्छन ।’’

तथापि सञ्चारको बढ्दो सुविधाले बाबुआमाप्रतिको सम्मान र सेवा परम्परा पनि मोबाइलको आभाषी (भर्चुअल) स्क्रिनमा सिमित पार्दै लगेको छ ।

बाबु गुमाएकाहरू आज पवित्र स्थानमा गई आफ्ना पितृको नाममा तर्पण तथा श्राद्ध गर्ने चलन छ । कुशे औँसीमा रातु, मडाहा, बाँके लगायत जिल्लाका पवित्र नदीमा आ–आफ्ना दिवङ्गत बाबुको नाममा तर्पण दिनेको बिहानैदेखि घुइँचो लागेको छ ।

बुबा गुमाएकाहरूले श्राद्ध गर्न नसकेमा जलदान एवम् सिदा दान मात्रै भए पनि गर्ने परम्परा छ । बुवा गुमाएकाले आफु पुग्न सक्ने तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै कुल परम्परास्थिर हुने धर्मग्रन्थमा उल्लेख भएको पण्डित प्याकुरेलले बताउनुभयो । तर्पण तथा दान गरेमा पितृलाई तृप्ति प्राप्त हुने र आफ्नो कुल परम्परास्थिर हुने धार्मिक विश्वास रहेको पण्डित प्याकुरेलले बताउनुभयो ।