सन्तोष दहित
दाङ, भदौ ७ गते । थारू समुदायको अट्वारी पर्वको अवसरमा दाङमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । थारू समुदायले यो वर्ष भदौ ८ र ९ गते अट्वारी मनाउँदै छन् ।
अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु बाहुल्य जिल्ला दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा भदौ ८ गते सार्वजनिक बिदा दिएको छ भने दाङका स्थानिय तहले भदौ ९ गते सार्वजनिक बिदा दिएका छन् ।
घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले एक सूचनाजारी गरी भदौ ९ गतेसम्म थारू समुदायले अट्वारी पर्व मनाउने भएकाले सोही दिन सार्वजनिक बिदा दिएको जानकारी दिनुभयो । भदौ २ गते बसेको घोराही उपमहानगरपालिका कार्यपालिकाको १७७ औँ बैठकको निर्णयअनुसार भदौ ९ गते अट्वारी र तीजको बिदा दिने निर्णय भएको विज्ञप्तिमा उहाँले उल्लेख गर्नुभएको छ ।
दंगीशरण गाउँपालिकाले पनि भदौ ९ गते अट्वारीको सार्वजनिक बिदा दिएको जनाएको छ । पालिकाले एक सूचना जारी गरेर थारू समुदायले दुई दिनसम्म अट्वारी मनाउने भएकाले स्थानीय सरकारको तर्फबाट भदौ ९ गते बिदा दिएको गाउँपालिकाको अध्यक्ष सम्भु गिरीले जानकारी दिनुभयो ।
यस्तै, राजपुर गाउँपालिकाले पनि भदौ ९ गते नै अट्वारीको विदादिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले सूचना निकालेर जानकारी गराउनुभएको छ । यता लमही नगरपालिकाले भने भदौ १५ र १६ गते अट्वारी बिदा दिएको नगरपालिकाका प्रमुख जोखराज चौधरीले जानकारी दिनुभयो ।
हरेक वर्ष कृष्णा जन्माअष्टी (थारु समुदायका महिलाले मनाउने अष्टिम्की) को दोस्रो आइतबार अर्थात कुशे औँसीको पहिलो आइतबार थारू समुदायले अट्वारी मनाउँदै अएका छन् ।