• ७ भदौ २०८२, शनिबार

गरिब र विपन्नको उपचारको साथी

blog

चितवन समाचारदाता

चितवन, भदौ ७ गते  । भरतपुर अस्पतालले क्याथल्याब सेवा सुरु गरेपछि नेपालमै सबैभन्दा सस्तो उपचार प्रदान गर्दै आएको दाबी गरिएको छ । 

मुटु, टाउको र शरीरको इन्टरभेन्सनमा गरिने उपचार काठमाडौँको भन्दा सस्तोमा गर्ने गरिएको अस्पतालले जनाएको छ । न्युरो इन्टरभेन्सन अन्तर्गत दिमागको नसा फुट्ने र पक्षाघातको उपचार भरतपुर अस्पतालले गर्दै आएको छ । भरतपुर अस्पतालका रेडियोलोजिस्ट डा. प्रदेश घिमिरले न्युरोसम्बन्धी उपचार काठमाडौँको भन्दा सस्तोमा गर्ने गरिएको बताउनुभयो ।

काठमाडौँका केही सरकारी र निजी अस्पतालमा हुने सेवा सस्तो र भरपर्दो रूपमा भरतपुरमै पाइने गरेको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “जटिल उपचार राजधानी काठमाडौँमा मात्रै हुन्छ भन्ने मानसिकता छ तर उपत्यकाबाहिर भरतपुर अस्पतालमा पनि न्युरो इन्टरभेन्सनको उपचार राम्रोसँग हुने गरेको छ ।” 

न्युरोसम्बन्धी सबै उपचार भरतपुर अस्पतालले गत जेठ २२ देखि सुरु गरेको हो । अस्पतालले क्याथल्याब ल्याएपछि जटिल उपचार सेवाहरू सञ्चालनमा ल्याएको हो । भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले सरकारी अस्पताल भएर पनि नेपालकै सस्तो उपचार दिँदै आएको बताउनुभयो ।

भरतपुर अस्पतालका प्रवक्ता तथा सिनियर कन्सल्टेन्ट गाइनोकोलोजिस्ट डा. रामप्रसाद सापकोटाले अस्पतालले विशिष्टीकृत सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । क्याथल्याब सेवा सुरु भएपछि मुटुको रगत सप्लाई कोरोनरी एन्जियोग्राफीको उपचार जेठयता ५४ वटा भएका छन्  । 

एक वर्षमा पाँच हजारको  निःशुल्क उपचार 

भरतपुर केन्द्रीय अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार गरेका छन् । अस्पतालको सामाजिक सेवा 

एकाइमार्फत लक्षित वर्गका नागरिकले निःशुल्क उपचार लिएका हुन् । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार र लक्षित वर्गको उपचारमा सेवा पाएको जानकारी दिनुभयो । यसरी उपचार लिँदा चार करोड छ लाख ९५ हजार १० रुपियाँ बराबरको सेवा पाएका हुन् । 

सामाजिक सेवा एकाइ प्रमुख रामहरि ढकालले लक्षित वर्गमा चेपाङ, बोटे, मुसहर, माझी, असहाय नागरिक पर्ने गरेका जानकारी दिनुभयो । गत वर्ष यी वर्गका तीन हजार ४९ नागरिकले सेवा लिएका उहाँले बताउनुभयो । उनीहरूले  तीन करोड ३३ लाख ७६ हजार ३५८ रुपियाँ बराबरको सेवा लिएका थिए । 

उपचार गर्न सहमति

रत्ननगर नगरपालिका र भरतपुर अस्पतालबिच गरिब तथा विपन्न नागरिकको उपचार सहायतासम्बन्धी सम्झौता भएको छ । नगरभित्र अलपत्र परेका, गरिब तथा विपन्न नागरिकलाई रोगको निदान तथा औषधी उपचारमा सहयोग गर्ने उद्देश्यले नगरप्रमुख प्रलाद सापकोटा र भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलबिच स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रत्ननगर नगरपालिकाको नगर सभाबाट आव २०८२÷८३ को वार्षिक स्वीकृत कार्यव्रmम अनुसार चितवन जिल्लाभित्र रहेका अलपत्र गरिब तथा विपन्न नगरवासीको रोगको निदान तथा औषधी उपचारको कार्यव्रmम कार्यान्वयनका लागि सो सम्झौता भएको हो । 

नगरपालिकाले प्रमाणित गरेको  सिफारिसबमोजिम न्यूनतम एक हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म उपचारमा छुट हुने छ । भरतपुर अस्पतालले सिफारिस भइआएका बिरामीलाई अस्पतालमा भएसम्मका छुट उपलब्ध गराउनुपर्ने सम्झौतामा उल्लेख छ । बिमा नगरेका, बिमा रकम सकिएका तथा सरकारका अन्य निःशुल्क कार्यव्रmममा नसमेटिएका नागरिकले यो सुविधा प्राप्त गर्ने छन् ।