• ८ भदौ २०८२, आइतबार

कुशको शव बनाएर दाहसंस्कार

blog

बबई समाचारदाता

बबई (बर्दिया), साउन ३० गते । भारतको उत्तराखण्ड राज्य, पौडी गढवालको बाकुडास्थित बिनु नदीमा गत बुधबारदेखि बेपत्ता भएका बर्दियाका नरेन्द्र खड्काको परिवारलाई पाँच दिनसम्म खोजी गरे पनि फेला पार्न नसकेपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । बिहान पहिरो र त्यसपछिको बाढीमा परी बेपत्ता भई फेला पर्न नसकेपछि परिवारले उहाँको कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।

बर्दियाको मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उहाँकी ३२ वर्षीय श्रीमती सरस्वती खड्का र २२ महिनाका छोरा रोमन खड्का, मधुवन–५ की अमृत परियार र गुलरिया–२ का सुवास दमाईं सो पहिरोमा बेपत्ता हुनुभएको थियो । परिवार बेपत्ता भएको सूचना पाएपछि नरेन्द्रका बुबा चूडामणि खड्का गत शुक्रबार गढवाल पुग्नुभएको थियो तर पाँच दिनसम्मको खोजी असफल भएपछि आफन्तहरू घर फर्किए र सोमबार कुशको शव बनाएर दाहसंस्कार गरी वैदिक परम्परा अनुसार किरिया बस्न सुरु गरियो ।

स्थानीय ऋषि काफ्लेका अनुसार नरेन्द्रका बुबाले छोराबुहारी र नातिको किरिया बस्न नसक्ने भएकाले किरिया बस्ने जिम्मा नरेन्द्रका काका उद्धव खड्काले लिनुभएको छ । चूडामणि खड्काले घटनास्थलभन्दा करिब एक किलोमिटर टाढा पहिरोमा बुहारी सरस्वतीको नाम लेखिएको छोराको हात भेटिएपछि जिउँदो भेटिने आशा टुटेको र त्यसैले कुशको शवलाई छोरा मानेर दाहसंस्कार गरिएको बताउनुभयो ।

काका उद्धव खड्काले नयाँ घर निर्माणको अन्तिम काम सकाउनुपर्ने भएकाले नरेन्द्र कामको खोजीमा गढवाल पुगेको जानकारी दिनुभयो । नरेन्द्रसँगै काम गर्ने चित्रबहादुर पौडेलका अनुसार पानी परिरहेको बेला टेन्टमा बसिरहेको बेला उनीहरू पहिरोमा च्यापिएका थिए । उक्त घटनामा बेपत्ता हुनुभएका मधुवन–६ की अमृता परियारको खोजी पनि निष्फल भएपछि उहाँका छोरा अजय र बुहारी विमला सोमबारदेखि किरिया बसिरहनुभएको छ ।

 पहिरोमा घाइते अमृताका देवर अशोक परियारको ढाडमा चोट लागेको छ भने छोरी लक्ष्मीको हल्द्वानीस्थित सुशीला तिवारी अस्पतालमा उपचार भइरहेको छ । त्यसै गरी गुलरिया नगरपालिका–२ का १९ वर्षीय सुवास दमाईं फेला नपरेपछि उहाँका बुबा सोमबहादुर दमाइ पनि घर फर्केर किरिया बस्न सुरु गर्नुभएको छ । यसरी एकै घटनामा बर्दियाका तीन परिवार शोकमा डुबेका छन् ।