काठमाडौँ, साउन २९ गते । टप एन्ड टी–२० सिरिजका लागि अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थप पाँच वटा अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने पक्का भएको हो ।
नेपालले अगस्ट २६ मा एसिटी तथा अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दुई दुई वटा टी–२० खेल खेल्ने छ । यस्तै अगस्ट ३० तारिख साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ ।
यसअघि नेपालले बिहीबार (आज) देखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा शुक्रबार प्रतिस्पर्धा गर्ने छ । अगस्ट २४ सम्म डार्विनमा हुने टप एन्ड टी–२० सिरिजमा नेपालले शुक्रबार स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग प्रतिस्पर्धा गर्ने छ ।
यस्तै नेपालले अगस्ट १६ मा बङ्गलादेश ‘ए’, १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्ने छ । यस सिरिजमा ११ टोलीको सहभागिता रहेको छ ।