• २ भदौ २०८२, सोमबार

पाकिस्तानको ७९ औं स्वतन्त्रता दिवस मनाइयो

blog

पाकिस्तानको ७९ औं स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासमा आयोजित कार्यक्रममा प्रार्थना गरिँदै । तस्बिर : पाकिस्तानी राजदूतावास

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २९ गते । पाकिस्तानको ७९ औं स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासमा झन्डोत्तोलन गरिएको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले पाकिस्तानको राष्ट्रिय झन्डा फहराउनु भयो । 

त्यस अवसरमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दिनुभएको सन्देश वाचन गरिएको थियो । सन्देशमा उहाँले स्वतन्त्रता दिवस पाकिस्तानको निर्माणका लागि नेतृत्व गरेको साहस, एकता र बलिदानको सम्झना रहेको स्मरण गर्नुभएको छ । उहाँले पाकिस्तानका संस्थापक कायद ए आजम मुहम्मद अली जिन्ना र पाकिस्तानी आन्दोलनकारीहरूको सङ्घर्ष र बलिदानका लागि श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शाहबाज शरिफले दिनुभएको सन्देशमा विगत ७८ वर्षले एउटा राष्ट्रका रूपमा देशवासीले धेरै कठिन चुनौतीको सामना गर्दै उत्थानशीलता, बलियो विश्वास र उज्ज्वल भविष्यको आशाको गाथा बताउने स्मरण गर्नुभयो । 

उहाँले यति हुँदाहुँदै पनि पाकिस्तानले हरेक क्षेत्रमा सफलता र उपलब्धिको शृङ्खलाबद्ध उपलब्धि हासिल गरेको र अर्थतन्त्रदेखि खेलकुद तथा रक्षादेखि सूचना प्रविधिसम्म, पाकिस्तानीले अतुलनीय दृढ सङ्कल्प र साहसका साथ ज्ञान र सिपका अनुकरणीय अध्याय लेखेको चर्चा गर्नुभयो । 


पाकिस्तानका उपप्रधान मन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले पाकिस्तानले सैन्य र कूटनीतिक दुवै मोर्चामा उत्कृष्ट प्रदर्शन गर्दै रहेको बताउनु भयो । सैन्य तयारी, कूटनीतिक कुशलता र राष्ट्रिय एकता मार्फत विश्वव्यापी शान्ति कायम राख्दै सार्वभौमसत्ताको रक्षा गर्ने पास्तिानको सङ्कल्प रहेको उहाँले बताउनु भयो । 

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले १९४७ को ऐतिहासिक सङ्घर्ष र पुर्खाको बलिदानका लागि श्रद्धाञ्जली अर्पण गर्दै शान्ति, प्रगतिप्रति पाकिस्तानको प्रतिबद्धताको स्मरण गर्नुभयो ।