चित्रकुमार मिजार
सिन्धुपाल्चोक, साउन २६ गते । बहुप्रतिक्षित १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङभित्र र बाहिर जताततै पानी चुहिदा बस्ती जोखिममा परेको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।
सोमबार यहाँकाे बोर्डरल्याण्ड रिर्सोटमा बाह्रबिसे नगरपालिका वडा ६ का अध्यक्ष कुलबहादुर श्रेष्ठको नेतृत्वमा प्रभावित स्थानीय क्लब, वन समितिलगायतका समुदायले आयोजनाका अधिकारीसँग जोखिमबारे ध्यानार्कषण गराए ।
आयोजनाले बाह्रबिसे नगरपालिका–५ मा पावरहाउस र भोटेकोशी गाउँपालिका–५ चाकुमा बाँध निर्माण गरिरहेको छ । विद्युत उत्पादन गर्ने तयारीमा जुटेको उक्त आयोजनाको बोर्डरल्याण्डस्थित मुख्य सुरुङ र संरचना बाहिरका सबैजसो भुभागबाट पानी चुहावट भएर जथाभावी खोलो बग्दा बस्तीनै क्रमशः भास्सिदै गएर भोटेकोशीमा मिसिने त्रासमा स्थानीयले खबरदारी गरेको बाह्रबिसे नगरपालिका वडा ६ का अध्यक्ष कुलबहादुर श्रेष्ठले बताउनुभयो ।
सुरुङबाट पानी चुहिँदा सिगो बस्ती धरापमा परेको छ । यससँगै विज्ञ र विशेषज्ञद्वारा निरीक्षण गरेर सुरुङ मर्मतसम्भार गरिनुपर्ने, मानव, जग्गा, जमिन र घरसम्पत्तीको (क) वर्गको बिमा हुनुपर्ने, वडालाई सामुदायिक उत्तरदायित्वका बजेट उपलब्ध गराउनुपर्नेजस्ता माग स्थानीयले राखेको उहाँकाे भनाइ छ ।
सुरुङको बोर्डरल्याण्डबाट पहिलो पटक २०८० पुसमा पानी चुहिएको थियो । पानी चुहिएपछि आयोजनाले नौ महिना समय लागएर सुरुङ मर्मतसंम्भार गरेको थियो ।
त्यसपछि दोस्रो पटक २०८१ मा पनि सोही स्थानबाटै पानी चुहिएपछि आयोजनाले सुरुङमा रेट्रोफिटिङ प्रविधि अपनाएर काम अघि बढाएको थियो । गत असारमा पनि आयोजनाले सुरुङमा पानी हालेर हेर्दा तेस्रो पटक पनि बोर्डरल्याण्डबाटै पानी चुहिएको छ । सुरुङमा पानी चुहिदाँ समेत विद्युत उत्पादनतर्फ आयोजना लाग्दा स्थानीयहरु घर छाडेर बिस्थापित हुन थालेका छन् । तर आयोजनाका निमित्त प्रमुख सुदिप जोशीले भने सुरुङको संरचना स्थिर र सुरक्षित रहेको दाबी गर्नुभयो ।
साथै सुरुङ आसपास र माथिल्लो भेगमा रहेको बस्तीलाई कुनै जोखिम नरहेको तथ्य उक्त कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । प्रभावितबीच बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत ,सशस्त्र प्रहरी बल लामोसा“घुका प्रहरी नायब उपरिक्षक जगतबहादुर दुवालसहित अन्य सुरक्षाकर्मी उपस्थित थिए ।
स्थानीय र आयोजनाका पक्षबीच यस विवादबारे सहमती जुट्न नसकेपछि बैठक र छलफल केही समय स्थगित बनेको थियो ।
भदौ १० गतेअघिसम्ममा आयोजनाका उच्च तहका अधिकारी ,स्थानीय प्रशासन प्रमुख ,सुरक्षा प्रमुख ,संघिय तथा प्रदेश सांसद ,जनप्रतिनिधिको उपस्थितीमा छलफल र निर्णय हुनेछ । त्यतिबेला स्थानीयको माग सम्बोधन गर्ने आयोजना र प्रभावितबिच सहमती र निर्णय भएकोमा आयोजनाले जर्बजस्ती विद्युत उत्पादन गर्न खोजेमा आयोजनामा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
नेपाल विद्युत प्राधिकरण अन्र्तगत स्वामित्वमा रहेको न्यू खिम्ती ४०० केभी स्वस्टेसन हुँदै ढल्केश्वर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोड्ने तयारीका साथ मध्य भोटेकोशीले बिद्युत उत्पादन गर्न लागेको छ । चाकुबाट जम्बुसम्म ७ दशमलव २ किलोमिटर सुरुङ खनेर बिद्युत उत्पादनमा सो आयोजना लागेको छ । तर उक्त सुरुङखण्डको बोर्डरल्याण्ड क्षेत्रमा सुरुङबाट पानी चुहिएर स्थानीयहरु त्रसित अवस्थामा रहेको स्थानीय सुरेन्द्र श्रेष्ठले पीडा पोख्नुभयो । उक्त आयोजनाले सुरुङबाट पानी नचुहिएको बताउ“दै आएपनि बोर्डरल्याण्ड क्षेत्रबाट पानी चुहिरहेको छ ।
आयोजनाले यसअघि दुई पटक उक्त बोर्डरल्याण्ड क्षेत्रमै सुरुङबाट पानी चुहिएर मर्मत गरेको थियो । स्थानीयको कुरा नै नसुनेर आयोजनाले सुरुङमा पानी भरेर बिद्युत उत्पादनमा लाग्दा सिङ्गो गाउँबस्ती नै जोखिममा परेको सुरेन्द्रले दुखेसो सुनाउनुभयो । सुरुङबाट पानी चुहिएर बिस्फोट भएमा गाती, जम्बु, खोर्सानीबारी, खाग्दल, बाह्रबिसे, लामोसाँघु, खाडीचौर लगायतका दर्जन बढी हजारौँ घरपरिवार उच्च जोखिममा पर्ने छन् ।