• ३१ वैशाख २०८३, बिहिबार

सवारी दुर्घटनामा एक युवकको मृत्यु, दम्पती घाइते

blog

राजविराज (सप्तरी), साउन२६  गते ।  सप्तरीमा भएको सवारी दुर्घटनामा आज एक युवकको मृत्यु भएको छ भने एक दम्पती घाइते भएका छन् ।

जिल्लाको शम्भुनाथ नगरपालिका–८, पोखरियास्थित भित्री सडकखण्डमा टेम्पु रिक्सा र मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२, कनकपटी बस्ने अन्दाजी २४ वर्षीयका अजयकुमार चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । गम्भीर घाइते भएका उहाँलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  । 

सोही दुर्घटनामा टेम्पु चालक शम्भुनाथ नगरपालिका–८, पोखरिया बस्ने ४५ वर्षीय मणिलाल मण्डल र उहाँकी ४० वर्षीया पत्नी आशादेवी मण्डल घाइते भएको प्रहरीको भनाइ छ । उहाँहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स. १०२५ नम्बरको टेम्पु रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००५ प. ५७३३ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको थियो । रासस