• २६ साउन २०८२, सोमबार

सहस्रलिङ्ग धाममा दिव्य मेला

blog

धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको सहस्रलिङ्ग धाम, देवलहाट, बैतडी । तस्बिर : केशवराज भट्ट

केशवराज भट्ट 

वासुलिङ (बैतडी), साउन २६ गते । ऐतिहासिक गाथा र धार्मिक आस्था एकै ठाउँमा रहेको बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको श्री सहस्रलिङ्ग धाममा साउन २६ गते सोमबार दिव्य मेला लागेको छ ।

यस धामले धार्मिक, पौराणिक, आध्यात्मिक र सांस्कृतिक महत्त्वलाई जोड्दै प्रत्येक वर्ष साउन महिनामा यहाँ दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ । जनविश्वास अनुसार साउन महिनामा सहस्रलिङ्गको दर्शन गरे मनोकामना पूरा हुने मान्यता रहिआएको स्थानीय वीरबहादुर चन्दले बताउनुभयो । धार्मिक र ऐतिहासिक दुवै दृष्टिले यो स्थल अमूल्य सम्पदा हो, तर यसको प्रचार–प्रसार र संरक्षणमा उदासीनता देखिँदा दुःख लागेको चन्दको भनाइ छ ।

साउनको अन्तिम सोमबार विशेष रूपमा यहाँ रुद्राभिषेक पूजा, वेदपाठ, भजन–कीर्तन र आरती गरिन्छ । सहस्रलिङ्ग दर्शन गरी पूर्ण चिताएको फल प्राप्त हुने धार्मिक विश्वास पुस्ता दरपुस्ताबाट चली आएको स्थानीय दिनेश कार्कीले बताउनुभयो ।

पुरातात्त्विक पृष्ठभूमि 

धामको मूल आकर्षण रहेको कलात्मक शिवलिङ्ग १.९० मिटर परिधि र २६० सेमि उचाइको पीठमाथि प्रतिस्थापित छ । लिङ्ग भाग मात्र ५० सेमि व्यासको रहेको यस शिवलिङ्गमा १५ पंक्तिमा क्रमबद्ध रूपमा ससाना लिङ्गका आकृतिहरु कुँदिएका छन, जसलाई भगवान शिवका १००८ नाम र स्वरूपको प्रतीक मानिन्छ । 

प्रारम्भमा यो शिवलिङ्ग सात वटा देवलहरुमध्ये कुनै एकमा प्रतिस्थापित गरिएको हुनसक्ने र यसको स्थापना कसले र कहिले गरेको हो भन्नेबारे कुनै लिखित प्रमाण नभेटिएको स्थानीय दिलाराम भट्टले बताउनुभयो । भट्टले भन्नुभयो स्थानीय मौखिक इतिहासअनुसार, प्राचीन समयमा यहाँ ध्यानस्थ योगीहरूले तपस्या गर्ने क्रममा जमिनबाट नै लिङ्गको आकृति प्रकट भएको विश्वास गरिन्छ ।

पर्यटकीय सम्भावना र चुनौती 

जिल्ला सदरमुकामबाट करिब दुई किलोमिटर टाढा रहे पनि यहाँको पहुँचमार्ग अझै कच्ची छ । प्रचार–प्रसार र पूर्वाधार विकासको कमीले गर्दा बाह्य पर्यटकको आगमन न्यून छ । धामसँगैको बस्तीलाई होमस्टेमा रूपान्तरण गर्न सके आन्तरिक र बाह्य पर्यटक दुवै आकर्षित गर्न सकिन्छ अर्का स्थानीय हरिदत्त भट्टले बताउनुभयो ।

सहस्रलिङ्ग धाम नेपालका विभिन्न स्थानसँगै भारतको पिथौरागढ, डडेल्धुरा, कैलाली र कञ्चनपुरका श्रद्धालुहरूको पनि आस्थाको केन्द्र हो । धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण यो स्थल सुदूरपश्चिमकै छुटाउन नमिल्ने गन्तव्यको रूपमा रहेको स्थानिय विनोद बहादुर चन्दले बताउनुभयो ।