केदार तिमल्सिना
बनेपा, साउन २६ गते । काभ्रेपलाञ्चोक जिल्लामा एक वर्षको अवधिमा ८० हेक्टर अर्थात् एक हजार छ सय रोपनी नयाँ जमिनमा सिँचाइ सुविधा पुगेको छ । प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रपलाञ्चोकमार्फत जिल्लामा ८० हेक्टर अर्थात् १६ सय रोपनी जमिनमा नयाँ सिञ्चित क्षेत्र विस्तार (सिँचाइ सुविधा) पुर्याएको हो ।
कार्यालयका प्रमुख ई. विनय पौडेलले कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा ६७० हेक्टर अर्थात् १५ हजार रोपनी जमिनमा पुरानो कुलो, बाँधको मर्मत सुधार गरेर सिँचाइ सुविधा उपलब्ध गराएको बताउनुभयो । उहाँले एक वर्षको अवधिमा कार्यालयले जिल्लाभरमा १८ दशमलव ३ किलोमिटर आरसिसि कुलो निर्माण, २१ दशमलव ९४ किलोमिटर एचडिपीई पाइपको कुलो, ३ दशमलव ५७ किलोमिटर तटबन्धन पर्खाल निर्माण गरेको बताउनुभयो ।
ई. पौडेलले कार्यालयले एक वर्षमा लिफ्ट सिँचाइका लागि एउटा सौर्य ऊर्जा जडान, ५२ वटा सिँचाइ मर्मत तथा नदी नियन्त्रणतर्फ (सालबसाली) ४७ वटा योजना सम्पन्न गरेको बताउनुभयो । कार्यालयले अघिल्लो आवमा प्रदेशतर्फ सिँचाइतर्फ ९१ वटा, पहिरो तथा नदी व्यवस्थापनतर्फ ४७ वटा योजना, ऊर्जातर्फ तीन वटा र सङ्घीय सशर्त अनुदानतर्फ तीन वटा सिँचाइका बहुवर्षीय योजनामा काम गरिएको जनाएको छ ।
अघिल्लो आवमा जिल्लामा सञ्चालन भएका बहुवर्षीय सिँचाइअन्तर्गत बस्नेतटार लिफ्ट सिँचाइ पनौती–२, हिले जलजले पर्यटकीय ताल बनेपा–२ को पहिलो चरण, शिखरटार सिँचाइ योजना रोसी–३ रोसी खोलादेखि काल्धारासम्म लिफ्ट सिँचाइ तेमाल–७ को काम सम्पन्न गरेको हो ।
आव २०८१/०८२ मा जिल्लामा प्रदेशतर्फ २० वटा बहुवर्षीय र सङ्घीय सशर्त अनुदानतर्फ तीन वटा बहुवर्षीय सिँचाइ आयोजना सञ्चालन भएको थियो । काम सम्पन्न गर्न बाँकी रहेका प्रदेशतर्फका तीन वटा र सङ्घीयतर्फका तीन वटा बहुवर्षीय सिँचाइ आयोजनाको कामका लागि चालु आर्थिक वर्षमा काम गर्न बजेट विनियोजन भएको ई. पौडेलले बताउनुभयो । उहाँले काम गर्न बाँकी रहेका बहुवर्षीय सिँचाइ आयोजनाहरुमा २० प्रतिशतदेखि ९५ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्लामा सिँचाइतर्फ १६८ वटा योजना, तटबन्धतर्फ ५७ वटा, ऊर्जातर्फ तीन वटा योजनामा बजेट विनियोजन गरेको छ । गत आवदेखि जिल्लामा सञ्चलान रहेको सङ्घीय सर्शत अनुदानतर्फका तीन सिँचाइ योजनाको काम चालु आवमा निरन्तरता दिइने कार्यालयले जनाएको छ । यस वर्ष समपूरकतर्फ प्रदेश र सङ्घीय सरकारले रोसी खोला नियन्त्रणका लागि बहुवर्षीय योजनामा समावेश गरी सङ्घीय सरकारले चार करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले गत असोज महिनामा रोसी खोलामा आएको बाढीका कारण जिल्लाको पनौती, नमोबुद्ध नगरपालिका, रोसी र तेमाल गाउँपालिकामा धेरै क्षति पुर्याएपछि उक्त नदि नियन्त्रणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाएको छ । कार्यालयका प्रमुख ई. पौडेलले रोसी खोला नियन्त्रण कार्यक्रमअन्तर्गत विपी राजमार्गले काम गर्नेभन्दा बाहेकको बस्ती र खेतियोग्य जमिन जोगाउने काम गरिने बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोक जिल्लामा हालसम्म आठ हजार हेक्टर अर्थात् एक लाख ६० हजार रोपनी जमिनका लागि सिँचाइ सुविधा पुर्याउनका लागि पूर्वाधार तथा संरचना तयार गरिएको बताउनुभयो ।