• २६ साउन २०८२, सोमबार

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

blog

बेनी–जोमसोम सडकमा खसेको पहिरो । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, साउन २६ गते ।
लगातारको वर्षाका कारण पहिरो खसेपछि कालिगण्डकी कोरिडोरअन्तर्गतको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कोरिडोरको म्याग्दी खण्डमा पर्ने विभिन्न स्थानहरुमा पहिरो खसेपछि यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ  ।

आइतबार साँझ केही बेर यातायात सञ्चालनमा आए पनि वर्षाका कारण पहिरो खसेपछि रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको हो । कोरिडोरको म्याग्दी खण्डमा पर्ने बैसरी नजिकको सिरुबारी, भुरुङ भिर, गुइँठेभिर, सुकेबगर, म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पहिरो खसेका कारण यातायात अवरुद्ध भएको कालिगण्डकी कोरिडोर सडक आयोजनाका सब–इन्जिनियर गणेशमान श्रेष्ठले बताउनुभयो ।

पहिरो पन्छ्याउन आयोजनाका तर्फबाट स्काभेटर लगायतका उपकरण परिचालन गरे पनि वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पानी परिरहेको छ । पहिरो हटाएर यातायात सुचारु गरे पनि केही बेरमा फेरी पहिरो खसेर सडक अवरुद्ध हुन्छ । सोमबार बिहानैदेखि विभिन्न स्थानको पहिरो हटाउन आयोजनाका तीनवटा स्काभेटर परिचालन गरेका छौं । सिरुबारी, सुकेबगर र काभ्रेभिरमा ठूलो पहिरो खसेकाले सडक खुलाउन ५ देखि ६ घण्टा लाग्नसक्छ ।’’

सडक अवरुद्ध हुँदा मुस्ताङ जाने धार्मिक पर्यटकका साथै सार्वसाधारण यात्रुहरु बाटोमा अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सडकको अवस्थाका बारेमा सूचना लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

यसैगरी, प्रहरीका अनुसार जिल्लाभित्रको पश्चिम भेग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत पहिरोले सडक अवरुद्ध छ । अन्य ग्रामीण सडकहरुमा पनि ससाना पहिरोले यातायात अवरुद्ध भएकाे छ  ।