• २० साउन २०८२, मङ्गलबार

प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री बानियाँको शपथ

blog

बागमती प्रदेशको प्रमुख दीपकप्रसाद देवकोटा समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदैे मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ । तस्बिरः राममणि दाहाल

राममणि दाहाल

मकवानपुर, साउन २० गते । बागमती प्रदेशको मुख्यमन्त्रीमा नवनियुक्त ईन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालय पसिरमा मङ्गलबार दिउँसो आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री बानियाँलाई शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले शपथसँगै एक जना बिना विभागीयसहित नौ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ । बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १४ मन्त्रालय रहेको छ ।

मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख देवकोटाले नेपाली कांग्रेसको दुई र नेकपा (एमाले) बाट ६ जना मन्त्री नियुक्ति गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिशमा मन्त्रीपरिषद् गठन तथा कार्यविभाजन गर्नुभएको हो । 

नवगठित मन्त्रीपरिषद्मा कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङ मन्त्री बन्नुभएको छ । अधिकारीको मन्त्रालयपछि तोकिनेभएको छ । तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । कांग्रेसबाट मन्त्री बन्नुभएका दुवै नयाँ हुनुहुन्छ । कांग्रेसको भागमा परेका अन्य मन्त्रालय मुख्यमन्त्री आफैले राख्नुभएको छ ।

यस्तै, एमालेबाट सरकारमा जानेमा एक जना बाहेक सबै नयाँ अनुहार हुनुहुन्छ । बहादुरसिंह लामा तामाङ नेतृत्वको सरकारमा रहेका किरण थापा नयाँ सरकारमा दोहरिनुभएको छ । थापाले पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । 

सोहीअनुसार मधुसूदन पौडेलले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, भरतबहादुर केसीले वन तथा वातावरण मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय र विन्दु श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । 

कांग्रेसका दुई र एमालेका ६ जना मन्त्रीले शपथ लिनुभयो । नवनियुक्त मन्त्रीहरुलाई मुख्यमन्त्री बानियाँको उपस्थितिमा प्रदेश प्रमुख देवकोटाले शपथ ग्रहण गराउनुभयो । कांग्रेसले मुख्यमन्त्री कार्यालयसहित आठ र एमालेले ६ मन्त्रालय पाएको छ । 

प्रदेशसभामा रहेका दुई ठुला दलबिच प्रदेशसभाको बाँकी अवधिमध्ये २०–२० महिना आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति यसअघि भएको थियो । यो सहमतिअनुसार कांग्रेसबाट बहादुरसिंह लामा तामाङ १२ महिनाभन्दा बढी मुख्यमन्त्री रहिसक्नुभएको छ । सहमति कार्यान्वयन भएमा बानियाँ आगामी चैतसम्म मुख्यमन्त्री रहनु हुनेभएको छ ।

त्यसपछि सरकारको नेतृत्व एमालेले गर्नेगरी सहमति भएको थियो । शपथ ग्रहणपछि मुख्यमन्त्री बानियाँले प्रदेशका नागरिकले अनुभूति गर्नेगरी काम गर्ने र सुशासनलाई जोड दिएर सरकारले काम गर्ने बताउनुभयो । यसअघि बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटाले लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सोमबार सरकार गठनका लागि दाबी पेस गर्न आव्हान गरेलगत्तै कांग्रेस र एमालेले दाबी पेस गरेका थिए । 

कांग्रेसको दाबीअनुसार मङ्गलबार दिउँसो नै कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । बागमती प्रदेशका दुई ठुला दलहरू कांग्रेस र एमालेका ६४ जना प्रदेश सभा सदस्यको समर्थनमा बानियाँ मुख्यमन्त्री बन्नुभएको हो । बागमती प्रदेशमा मुख्यमन्त्री बन्नेमा बानियाँ छैटौँ हुनुहुन्छ । बानियाँ मकवानपुरको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।