• २० साउन २०८२, मङ्गलबार

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

blog

बागमती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ ।

राममणि दाहाल

मकवानपुर, साउन २० गते। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ।

बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलबार दिउँसो उहाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। 

दुई ठुला दल कांग्रेस र नेकपा (एमाले)बिचको सत्ता गठबन्धन अनुसार कांग्रेस र एमालेका गरी ६४ जना प्रदेश सभा सदस्यको समर्थनमा बानियाँलाई मुख्यमन्त्री बनाउन सोमबार दिउँसो प्रदेश प्रमुख देवकोटासमक्ष दाबी पेस गरिएको थियो। 

११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठुलो दल कांग्रेसको ३७ र एमालेको २७ जना प्रदेश सभा सदस्य रहेका छन्। मुख्यमन्त्री बानियाँको शपथग्रहण कार्यक्रम आजै दिउँसो ४:२० बजेका लागि तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

यसअघि कांग्रेसबाटै मुख्यमन्त्री बन्नुभएका बहादुर सिंह लामा तामाङको राजीनामापछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि सोमबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गर्नुभएको थियो।