• २० साउन २०८२, मङ्गलबार

गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध

blog

पहिरोका कारण मङ्गलबार अवरूद्ध बनेको मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक ।

गुल्मी, साउन २० गते । लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । 

उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३, बाख्रेभीरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । 

रिडी–तम्घास सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ । त्यसैगरी, आज बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी काेरिडोर, रिडी–वामीटक्सार र रिडी–खज्र्याङ् सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । 

तीन दिनदेखि गुल्मीसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ । 

पाल्पा–बुटवल खण्ड अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँमा पहिरो खसेको छ ।

सिद्धबाबा क्षेत्रका तीन ठाउँमा ढुङ्गासहितको पहिरो खसेकाले सोमबार साँझदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले बताउनुभयो । तिनाउ गाउँपालिका–३, दोभान प्रहरीचौकी नजिक पहिरो खसेको छ । निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ । 

सोमबार पहिरो पन्छाएर एकतर्फी सवारी साधन सञ्चालनमा ल्याए पनि रातिदेखि पुनः सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँचीलगायत स्थानबाट गुडेका सवारी साधन बाटोमै थन्किएका छन् । विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । रासस