सुजल श्रेष्ठ
प्युठान, साउन १९ गते । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले भदौ मसान्तसम्म स्वयम् पालिका वा वडामा पुगेर नवीकरण गर्नुपर्ने प्रावधान छ । तर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्तिहरु भने वडा तथा पालिकामा पुग्न असहज हुने गरेको छ ।
सोही समस्यालाई बुझेर प्युठानका केही वडाका जनप्रतिनिधि र कर्मचारीले वडाबाट मात्र सामाजिक सुरक्षा भत्ता नवीकरण नगरेर लाभग्राहीको घर टोलमै पुग्ने गरेका छन् । जनतालाई सहज रुपमा सेवा दिनका लागि घर तथा टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दै आएको स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष गिरबहादुर घर्तिमगरले बताउनुभयो ।
“बिहानदेखि साँझसम्म हामी वडाका विभिन्न बस्ती, टोल र घरमा समेत पुगिरहेका छौं,” वडा अध्यक्ष घर्तिमगरले भन्नुभयो, “शनिवारको दिनमा समेत हामी यसै अभियानमा लागेका छौं ।” कार्यालय समयमा सर्भर डाउन हुने, सेवाग्राहीलाई टाढाबाट पुग्न असजिलो हुने समस्या भएकाले टोलटोलमा पुगेर काम गरिरहेको उहाँले बताउनुभयो ।
माण्डवी गाउँपालिका–३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न कार्यालयले बिहानैदेखि कर्मचारी जनप्रतिनिधि खटेर काम गरेको बताउनुभयो । साउन ७ गतेदेखि १३ गतेसम्म वडाका सात वटा स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको जानकारी दिनुभयो । टोलटोलमा पुगेर नवीकरण गर्दा जनतालाई धेरै राहत भएको उहाँको भनाइ छ ।
गौमुखी गाउँपालिका–४ पुँजाका वडा अध्यक्ष धनिराम सुनार अहिले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि गाउँटोलमा पुगिरहनुभएको छ ।
लाभग्राहीलाई सहज रुपमा सेवा दिनका लागि कर्मचारीसहितको टोली वडाका गाउँ तथा टोलमा पुगिरहेका छन् । गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले जनप्रतिनिधिले गाउँटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा नागरिकलाई धेरै सजिलो भएको बताउनुभयो । अनिवार्य राष्ट्रिय परिचयपत्र, स्वयं उपस्थितलगायतका कारणले असहज महसुस गरेका लाभग्राहीलाई वडामा थालिएको यस अभियानले राहत दिएको उहाँको बुझाइ छ ।