• १९ साउन २०८२, सोमबार

मावाखोला पुलको पूर्वी भाग भत्किँदा स्थानीय चिन्तित

blog

मोरङको उर्लाबारी-आमबारी-सिंजुवा कृषि सडकलाई जोड्ने मावाखोला पुल ।

हरि काेइराला

उर्लाबारी, साउन १९ गते । झापाको दमक-१०, सेतुमारीसँग मोरङको उर्लाबारी-आमबारी-सिंजुवा कृषि सडकलाई जोड्ने मावाखोला पुलको पूर्वी भाग भत्किन थालेको छ । पुलको दायाबायाबाट लगातार माटो झर्न थालेपछि हाल पुलबाट मुस्किलले मोटरसाइकल र अटोमात्र ओहोर दोहोर गरिरहेका छन् । 

विराटनगर र दमकलाई छोटो दूरीले जोड्न २०७१ सालको चैतमा यो पुलको शिलान्यास भएको थियो । ढिलो गरी निर्माण सम्पन्न पुल ७५ दशमलव ४५ मिटर लम्बाइको छ । पुल बनेर पनि चार वर्षसम्म यो पुलले मोरङसँग सम्पर्क स्थापना गर्न सकेको थिएन ।  

पुल पश्चिमतर्फको झण्डै ५ सय मिटर लामो पहुँच मार्ग नबन्दा स्थानीयका लागि पुल ‘लङ्काको सुन’ जस्तै बनेको थियो ।  

पुल निर्माण भएको पाँच वर्षपछि मोरङतर्फ पहुँच मार्ग बन्यो । तर बर्षेनि मावाले पहुँच मार्ग बगाउँदा हरेक वर्ष उर्लाबारी–९ का बासिन्दाले दुःख पाउने गर्छन् । हाल मोरङतर्फ मावामा तटबन्ध भयो । खोलाको धार क्रमश पूर्व हानिँदा झापातर्फ पुल भत्किन थालेको छ । 

उर्लाबारी-९ का टङ्क थक्लुङले भन्नुभयो, हामीले धेरै वर्ष दुःख पायौं । यो वर्ष झापातर्फ क्षति हुन थालेको छ । यो वर्ष बाढी आएको छैन । बाढी नआउँदै अटो र मोटरसाइकल मात्र गुड्न सक्ने अवस्थामा पुगेको छ । बाढी आउनासाथ पुलबाट वारपार गर्न सकिँदैन । उहाँले यथाशीघ्र मर्मत नगरे मावा पुल काल बन्ने सङ्केत गर्नुभयो । 

उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तानले झापातर्फको मर्मत दमक नगरपालिकाले गर्ने भएकाले आफूले नगर प्रमुख रामबहादुर थापालाई सूचना दिइसकेको जानकारी दिनुभयो । दमक–१० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले स्थलगत निरीक्षण गरी तत्कालका लागि विपद् व्यवस्थापन गरिने र हिउँदमा थप काम गर्ने बताउनुभयो । 

विटी निर्माण सेवाले ४ करोड ४० लाख रुपियाँमा निर्माण गरेको यो पुल सुरुमा दुई सय मिटर बन्ने गरी निर्णय भएको थियो । तर पुल ७५ दशमलव ४५ मिटरको मात्र बन्यो । त्यसैले कहिले पूर्व तर्फबाट र कहिले पश्चिम तर्फबाट खोलाले दुःख दिइरहेको स्थानीयको भनाइ छ ।  

दमकबाट पूर्व पश्चिम राजमार्गको इटहरी हुँदै विराटनगर पुग्न ६५ किमी दूरी छ । तर दमकबाट यो पुल तरेर सिंजुवा हुँदै हुलाकी सडकबाट विराटनगर पुग्न ४२ किमी यात्रा तय गरे हुन्छ ।