• १९ साउन २०८२, सोमबार

बस्तीमाथि धाँजा फाटेपछि जेठलका २५ घरधुरी उच्च जोखिममा

blog

लिसंखुपाखर गाउँपालिका–५ जेठलका २५ घरधुरीभन्दा बढी घरहरु पहिरोको उच्च जोखिममा । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, साउन १९ गते ।
लिसंखुपाखर गाउँपालिका–५ जेठलका २५ घरधुरीभन्दा बढी घरहरु पहिरोको उच्च जोखिममा परेका छन् । सिन्धुपाल्चोक र दोलखा जिल्लाको सीमानामा पर्ने स्थानमा ५० मिटरभन्दा बढी जमिन धाँजा फाटेका कारण बस्ती उच्च जोखिममा रहेको हो । धाँजा फाटेको स्थानभन्दा तल जेठल गाउँ छ ।

उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । वर्षात भइरहेकाले जमिन फाटेर पहिरो जान सक्ने भएका कारण बस्ती जोखिममा रहेको हो । उनीहरुलाई लिसंखुपाखर गाउँपालिकाले अस्थायी टहरा बनाएर सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको उक्त गाउँपालिका अध्यक्ष राजु लामाले जानकारी दिनुभयो ।

केही दिनअघिसम्म जोखिममा रहेका परिवारलाई उनीहरुको आफान्त र छिमेकीको घरमा आवासका लागि प्रवन्ध मिलाइएको थियो । उक्त वडाका चर्तुध्वज जोशी, दण्डध्वज जोशी, लिलाबहादुर जोशी, सुर्वणराज श्रेष्ठ, दलबहादुर श्रेष्ठ, धर्मसिंह श्रेष्ठ, मिश्रिलाल श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, बीरबहादुर श्रेष्ठलाई छिमेकी र आफान्तजनको घरमा आवास मिलाइएको अध्यक्ष लामाले बताउनुभएको छ ।

अन्य जोखिममा रहेका घरपरिवारलाई जोखिमको अवस्था हेरेर सुरक्षित स्थान र छिमेकीमा स्थानान्तरण गर्न लागिएको उहाँको भनाइ छ । सिन्धुपाल्चोक र दोलखा जिल्लाको सीमानामा पर्ने जमिन ५० मिटर बढी धाँजा फाटेपछि त्यहाँ उच्च सर्तकता अपनाइएको छ ।