• १८ साउन २०८२, आइतबार

विश्व स्ट्रेन्थ लिफ्टिङ्गमा स्वर्ण विजेतालाई नेपालगन्जमा सम्मान

blog

स्वर्ण पदक विजेता खेलाडीहरु सम्मानित भएपछि । तस्बिर : गोरखापत्र

सिराज खान

नेपालगन्ज, साउन १८ गते । थाइल्याण्डको पटायामा हालै सम्पन्न भएको १२औँ विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिपमा बिश्व किर्तिमान बनाउने स्वर्ण पदक विजेता बाँकेका खेलाडीलाई बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग सङ्घले सम्मान गरेको छ । 

बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग सङ्घका अध्यक्ष बीनी टण्डनले देशको नाम उच्च राख्न सफल नेपालगन्जका तीन जना खेलाडीलाई सम्मान गर्नुभयो । 

२२० किलो उचालेर बिश्व किर्तिमानसहित स्वर्ण पदक जित्ने करण बाडिया, स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेसमा स्वर्ण पदक जित्ने मोहित गुप्ता र रजत पदक विजेता सन्तोष काजी शाक्यलाई सो अवसरमा सम्मान पत्र प्रदान गरिएको थियो । 

१२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिपमा बाडियाले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा २२० किलो उचालेर विश्व किर्तिमान बनाउँदै गोल्ड मेडल जित्न सफल हुनु भएको थियो । बाडियाले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेसमा रजत पदक पनि जित्नुभएको थियो । 

सोही प्रकारले प्रतियोगितामा गुप्ताले स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेसमा स्वर्ण पदक र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा कास्य दिक जित्न सफल हुनुभएको थियो भने शाक्यले ७६ किलो तौलमा पुरुषतर्फ रजत पदक जित्नु भएको थियो । 

देशको नाम अग्रस्थानमा राख्न सफल बाँकेका ३ जनालाई खेलाडीहरुलाई सम्मान गर्न पाउनु गौरवको बिषय भएको बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग सङ्घका अध्यक्ष टण्डनले बताउनुभयो । 

सो प्रतियोगितामा बाँकेबाट तीनजना खेलाडी र अन्य जिल्ला बाट छ जना खेलाडी गरी नेपालबाट नौ जना खेलाडी सहभागिता भएको बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग सङ्घले जनाएको छ । प्रतियोगितामा नेपालीे टिमले सात स्वर्ण, पाँच रजत र दुई कास्य पदक गरेर १४ वटा मेडल प्राप्त गरेको थियो ।