• १८ साउन २०८२, आइतबार

बुद्ध विहारमा चोरी

blog

बुद्धि विहारमा रहेको बुद्धको मूर्ति ।

सुजन बज्राचार्य

सङ्खुवासभा, साउन १८ गते । सङ्खुवासभाको खाँदवारी नगरपालिका–१, त्रिरत्न बुद्ध विहारमा आइतबार बिहान तोडफोड र चोरीको घटना भएको छ। अज्ञात समूहले विहारको गेटको रड काटी ढोका फोडेर भित्र प्रवेश गरी दानपेटिकामा रहेको रकम चोरी गरेको प्रहरीले जनाएको छ।

बिहानको नियमित पूजा–भजनका लागि विहार पुगेका उपासक–उपासिकाले ढोका फुटेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरीले बुद्धको मूर्तिमा क्षति नपुगेको जनाएको छ।

शाक्य समाजका अध्यक्ष किरणकुमार शाक्यका अनुसार यसअघि पनि त्रिरत्न बुद्ध विहारमा यस्तै किसिमका तोडफोड र चोरीका घटनाहरू भएको थियो । पटक–पटक भइरहेका यस्ता घटनाले विहारको सुरक्षामाथि प्रश्न उठाएको उहाँको भनाइ छ । आस्था र धार्मिक सम्पदाप्रति उपेक्षा भएको भन्दै समुदायमा चिन्ता बढेको छ।

हाल घटनाको अनुसन्धान भइरहेको र दोषी पहिचान गर्न सुराकी सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। स्थानीय बासिन्दा र धार्मिक समुदायले विहारको सुरक्षाका लागि थप कडा निगरानी र प्रभावकारी कदम चाल्न माग गरेका छन्।