काठमाडौँ साउन १८ गते । नेपालका प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिप–२०२५ मा कांस्य पदक जित्नुभएको छ ।
दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा शनिबार प्रशान्तले जुनियर पुरुष ४२ केजीमुनि तौलसमूहमा कांस्य जित्नुभएको नेपाल कुराश सङ्घले जनाएको छ । प्रशान्त सेमिफाइनलमा उज्वेकिस्तानका खेलाडीसँग पराजित भएपछि कांस्यमा सीमित बन्नुभएको हो ।
एसियाली कुराश महासङ्घको आयोजनामा जुलाइ ३० तारिखदेखि सुरु भइ अगस्ट ५ तारिखसम्म चल्ने प्रतियोगितामा प्रशान्तको स्पर्धामा भारत, तुर्कमेनिस्तान, मङ्गोलिया, चीन (ताइपेई), कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपालबाट दुई खेलाडी सहभागी छन् । नामशाङ सामसोङ जुनियर पुरुष ५२ केजीमुनि प्रतिस्पर्धा गर्नुभएको थियो । एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो ।
यसअघि सन् २०१८ मा थाइल्यान्डमा भएको एसियन कुराश च्याम्पियनसिपमा कृति शर्माले ५२ केजीमुनि कांस्य पदक जित्नुभएको थियो । प्रतियोगिताका दौरान कुराश सङ्घका कार्यवाहक अध्यक्ष जीवन राईले एसियन कुराश कंग्रेसमा भाग लिनुभएको छ ।