• १८ साउन २०८२, आइतबार

उखु कृषकले बुझाए सरकारलाई ज्ञापनपत्र

blog

प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै महोत्तरीका उखु कृषक । र ज्ञापन पत्र । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, साउन १८ गते । सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेको विरुद्धमा यहाँका कृषकहरुले प्रशासन कार्यालयमार्फत आइतवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले चालु आर्थिक वर्ष ०८२-८३ को बजेटमा उखुमा दिँदै आएको प्रति क्विन्टल ७० रुपियाँ अनुदान कटौती गरेकोले आन्दोलनरत उखु किसानहरुको देशब्यापी ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । 

पूर्व घोषित कार्यक्रमअनुसार उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवहा तथा उखु उत्पादक कृषक महासंघका सदस्य महाशंकर थिङको नेतृत्वमा प्रशासन कार्यालय पुगेका सयबढी कृषकहरुले सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनुभएको हो । 

ज्ञापन पत्रको प्रारम्भमै भनिएको छ ‘उखु किसानहरुले आव ०८१-८२ को उखुको अनुदान रकमवापत करिव एक अर्व ६० करोड रुपियाँ सरकारले भुक्तानी नगरेको र चालु आवको बजेटमा यसबारे सम्वोधनसमेत नगरेको हुँदा तपसिलमा उल्लेखित उखु कृषकको जायज मागहरु सम्वोधन गरि दिन हुन सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै यो ज्ञापन पत्र पेश गरेका छौं ।’

८ बुँदे ज्ञापन पत्रमा उखु खेतीमा ब्याप्त समस्या र पीडालाई उजागर गर्दै उखुको उचित मूल्य नपाइरहेको अवस्थामा विगत डेढ दशकदेखि पाउदै आएका अनुदान पनि कटौती गरेपछि आन्दोलन बाध्यता बनेको उल्लेख छ ।  

ज्ञापन पत्र अनुसार चिनी र छुवाको विक्रीबाट सरकारले भ्याटवापत ३ अर्वबढी राजस्व प्राप्त गर्छ । त्यही राजस्वबाट अनुदानबापत सरकारले एक अर्व ६० करोड दिने हो । फेरी पनि सरकारलाई वतच हुन्छ । यदी किसानले उखु खेती नै नगरि दिने हो सरकारको पनि एक अर्व ४० करोड राजस्व गुम्न सक्छ ।

ज्ञापन पत्रमा अगाडी भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री ज्युले...आव ०८१-८२ को उखुको ७० रुपियाँ बराबरको अनुदान उपलब्ध गराइ दिनु हुनेमा हामी विश्वस्त छौं ।’ 

सरकारले ७० रुपियाँको अनुदान कटौतीको निर्णयविरुद्ध महोत्तरी, सर्लाही, बारा र सुन्सरी जिल्लाका उखु उत्पादक संघका अध्यक्ष तथा कृषकहरुको हरिवनमा साउन १२ गते सम्पन्न बैठकले तीन चरणमा आन्दोलन गर्ने कार्यक्रम तय गरेको थियो । 

प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाएपछि संचारकर्मीसँग कुरा गर्दै उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवहाले माग सम्वोधन नभए यही २० गते साउन अपराह्न ३ बजे देशभरका चिनी मिलको मूल गेटमा विरोधस्वरुप टायर बाल्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फेरी पनि माग सम्वोधन नभए भदौ ८ गतेदेखि काठमाडौं माइतीघर मण्डलाबाट उखु कृषक आन्दोलन चर्काउन बाध्य हुनेछन् ।’