• १८ साउन २०८२, आइतबार

साहित्यकार तिवारी सम्मानित

blog

साहित्यकार रुद्रनिधि तिवारीलाई सम्मान गर्दै । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, साउन १८ गते । साहित्यकार तथा संस्कृतिकर्मी रुद्रनिधि तिवारी सम्मानित हुनुभएको छ । लमजुङमा रहेको लिस्नो साहित्यक मञ्चले सहित्यकार तिवारीलाई सम्मान गरेको हो । बेंसीशहर नगरपालिका ११ चिती निवासी तिवारीलाई मञ्चले आफ्नो आठौँ स्थापना दिवस तथा अधिवेशनको अवसरमा सम्मान गरेको हो । 

नेपाली भाषा, कला, साहित्य र मौलिकताको सरंक्षण र संवर्धनमा तिवारीले पुर्‍याउनुभएका योगदानको कदर गर्दै लिस्नो साहित्यिक मञ्च नेपालले २०८१-०८२ को कवि प्रतिभा पुरस्कारबाट सम्मान गरेको मञ्चका अध्यक्ष काजीराम बस्नेतले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मातृकाप्रसाद खनाल, मञ्चका अध्यक्ष काजीराम बस्नेत, संरक्षक वसन्त अधिकारीले संयुक्त रुपमा तिवारीलाई दोसल्ला ओढाएर सम्मान पत्र, टीका र नगद पाँच हजार प्रदान गरी सम्मान गर्नुभएको हो ।

शिक्षण पेशाबाट अवकाशप्राप्त तिवारीले बेंसीसहरमा रहेको रेडियो मर्स्याङ्दीमा १८ वर्षदेखि हाम्रो शैली हाम्रो संस्कृति कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । मञ्चले बाल प्रतिभा छनाेट अन्तर्गत ल्याण्डस्टार बोर्डिङ स्कुलकी गरिमा घले र अर्थली प्याराडाइज स्कुलकी याना श्रेष्ठलाई पुरस्कृत गरेको छ । मञ्चले वार्षिक रुपमा विद्यालयस्तरमा रचना वाचन तथा प्रतिभा पहिचान कार्यक्रम र साहित्यसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

यसैबीच मञ्चको चौथो अधिवेशनले संस्थाका संरक्षक वसन्त अधिकारीको अपनत्व रहने गरी नयाँ कार्यसमिति गठन गरेको छ ।  नवगठित समितिको अध्यक्षमा कमला दनाई, वरिष्ठ उपाध्यक्ष देवीदास बराल, सचिवमा दीपक पाण्डे, सहसचिव भरतबाबु घिमिरे र कोषाध्यक्षमा चिजा सुयल चयन हुनुभएको छ । समितिको सदस्यहरुमा लीलावती बराल, विनीता देवकोटा, कृष्ण भुजेल, सरस्वती भट्ट, शिवदेवी बराल र तीर्थ गुरुङ रहनुभएको छ । यसैगरी सल्लाहकारहरुमा वासुदेव थापा, राजु थापा, काजीराम बस्नेत, वासुदेव सेढाई, लक्ष्मीप्रसाद मिश्र र हरिप्रसाद अधिकारी रहनुभएको छ ।