टोपलाल अर्याल
रेसुङ्गा, साउन १८ गते । मङ्गलबार कालीगण्डकी कोरिडोर र रिडी रुद्रवेणी सडकको दुई स्थानमा अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका नागरिकले सास्ती खेप्न पर्याे । गुल्मेलीले जिल्लाका मुख्य सडक पटकपटक अवरुद्ध हुँदा धेरै पटक सास्ती खेपेका छन् ।
जिल्लामा मुख्य सडक एक वर्षमा सुक्खा ११ र बर्सातका कारण पहिरो जाँदा ४४ गरेर ५५ पटक अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको योजना कालीगण्डकी काेरिडोरले गुल्मीका रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी गाउँपालिका छोएको छ । हिउँदमा सुख्खा पहिरोनै धेरै पटक गएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार कालीगण्डकी काेरिडोर एक वर्षको अवधिमा सुख्खा पहिरो पाँच र वर्षाका कारण गएको पहिरोका कारण २१ गरेर २६ पटक अवरुद्ध बन्यो ।
यस्तै, नेपाली सेनाले बम प्रयोग गरेर सडक निर्माण गरेको थियो । कालीगण्डकी गाउँपालिकाका प्रवक्ता रेशमराज न्यौपानेले सामान्य कारण बम ब्लास्ट भए पनि भुगोलनै कमजाेर हुँदा पहिरो धेरै जाने गरेको बताउनुभयो ।
कोरिडोरपछि धेरै पटक अवरुद्ध हुने सडक रिडी–रुद्रवेणी–वामी सडक हो । यो ठाउँमा माथिबाट लेदो बगेर आउने भएकाले २०७९ साल कात्तिक १ गते मुसिकोट नगरपालिका–६, भुवाचिदीका नरबहादुर गुरुङको लु. १ ज. ३४३२ नम्बर जीप बगेको थियो । डहरे खोलामै पहिरोसहितको बाढीले बुटवलदेखि बाग्लुङको हटियातर्फ जाँदै मालवाहक लु. १ ख. ७४०६ नम्बरको ट्रक पनि बगेको थियो । स्थानीयका अनुसार डहरेखोलामा पहिरो खस्न थालेको ०३२ सालबाट हो ।
रिडी–रुद्रवेणी–वामीटक्सार सडक ०३५ सालमा विस्तार भएको हो । डहरेको सास्ती ४५ वर्ष खेपेका स्थानीयले अहिले पुल बन्ने विश्वास गरेका थिए । तर, यो वर्षासम्म काम नसकिएकाले जोखिम उस्तै रहेको चन्द्रकोट गाउँपालिका–८ का ४८ वर्षीय दीपक खत्रीले बताउनुभयो । रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डका चार पुल प्याकेजमा निर्माण हुँदैछन् ।
एउटै ठेक्का मार्फत डहरेसहित नादेवा, भार्से र गिदीखोलामा पुल निर्माणको सम्झौता भएको छ । एक वर्षमा रिडी–रुद्रवेणी–वामी सडक तीन सुख्खा र १५ वर्षाको कारण पहिरो खस्दा १८ पटक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सदरमुकाम जोडने रिडी–तम्घास सडक पनि सुख्खा र वर्षाको पहिरोका कारण सात पटक अवरुद्ध बनेको छ ।
गुल्मीको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका दुई सय बढी ठाउँ बाढी र पहिरोको जोखिममा रहेका छन् । अहिलेको वर्षामा २२ हजार नागरिक प्रभावित हुने अनुमान जिल्ला विपद् व्यावस्थापन समिति गुल्मीको रहेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार वर्षा सुरु भएसँगै हुनेसक्ने बाढी र पहिरोमा तत्काल उद्धार गर्ने उदेश्यले चन्द्रकोट गाउँपालिका–८, मजुवाको मानका टीकाराम बहुमुखी क्याम्पसमा सशस्त्र प्रहरीको बेस स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी बल ३७ नं गुल्म, गुल्मीद्वारा सशस्त्र प्रहरी नायब निरीक्षक टोपबहादुर कुमालको कमान्डमा २० जनाको टोली बेसमा खटिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले तत्काल सडक सञ्चालन, बाढी र पहिरोको जोखिम स्थान पहिचान र सतर्कतासहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रको टोलीलाई तैनाथी अवस्थामा राख्ने काम भइरहेको बताउनुभयो ।