विनय कर्ण
कल्याणपुर (सप्तरी), साउन १८ गते। प्रहरीले सप्तरीमा हवाई फायर गर्दै दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीबिरपुरबाट लागुऔषध खैरो हेरोइनसहित दुवैजनालाई पक्राउ गरिएको हो।
छिन्नमस्ता गाउँपालिका १ घर भएका विशाल राय र डाक्नेश्वरी नगरपालिका ७ घर घर भएका मनोज रायलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिनुभयो।
केसीका अनुसार पक्राउ परेकाको साथबाट सय ग्रामभन्दा बढी लागूऔषध खैरो हेरोइन बरामद भएको छ।
प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो।
अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी अन्य अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।