जनार्जन खत्री
सर्लाही, साउन १८ गते । लामो प्रतीक्षापश्चात् पर्याप्त वर्षा हुँदा सर्लाहीका किसानलाई तत्कालका लागि राहत मिलेको छ । शनिबार रातभर नै यहाँ पानी पर्याे । एक झर पर्याप्त आकाशे वर्षा हुँदा धानसहित अन्य बालीलाई अमृतसरह काम गरेको कृषि प्राविधिकले बताएका छन् ।
अहिले परेको पानीले बाँझो रहेको खेतमा रोपाइँ गर्न र रोपिसकेको रोपो सुक्नबाट जोगिएपछि किसान खुसी भएका छन् । सर्लाहीमा चुरेवर्ती क्षेत्रमा एक सातामै तीन पटक पर्याप्त वर्षा भइसकेको छ ।
पूर्वपश्चिम राजमार्ग क्षेत्र र दक्षिणी भेगमा भने वर्षा हुन सकेको थिएन । शनिबार राति सबै भेगमा जमिन भिज्ने गरी पानी परेपछि किसान खुसी देखिन्छन् ।
कविलासी नगरपालिका–७, सिर्सियाका रामआश्रित महतोले अत्यधिक सुक्खा हुँदा मोटर चलाएर मुस्किलले रोपाइँ गरिएको र अहिले आकाशे वर्षा भएपछि धानबालीलाई अृमतसरह काम गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नियमित विद्युत् नहुने र भोल्टेज नआउने समस्याले आवश्यक परेको समयमा मोटर चलाउन सक्ने अवस्था थिएन तर अब रातिको पानीले केही दिनलाई पानीको समस्या टरेको छ ।”
धेरै दिनसम्म आकाशे वर्षा नहुँदा सर्लाहीमा कविलासी, मलङ्गवा, ब्रह्मपुरी, पर्सा, कौडेनालगायत पालिकामा बढी समस्या देखिएको थियो । यी पालिकाहरुमा पनि शनिबार राति रोपाइँमा सहयोग पुग्ने गरी पानी परेको कृषि शाखाले जनाएकाे छ ।
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाका अनुसार अहिलेसम्म जिल्लाभर ७० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको छ । वर्षा भएर मौसम अनुकूल भएकाले अब रोपाइँको प्रतिशत बढ्ने कुशवाहाको भनाइ छ ।
“अहिलेको वर्षातले बाँझो रहेको खेतमा रोपाइँ हुने अवस्था छ,” कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहाले भन्नुभयो, “अबको एक साताभित्र प्रायः सबैजसो क्षेत्रमा रोपाइँ भइसक्ने अनुमान गरेका छौँ । दक्षिणी भेगमा वर्षा नभए पनि सर्लाहीको चुरेवर्ती क्षेत्रमा भने बेलाबेलामा फाट्टफुट्ट वर्षा भइरहेको छ ।
आकाशे वर्षा र खोलामा पानी हुँदा कुलोबाट सिँचाइ पुग्ने चुरेक्षेत्रमा धान रोपेर हरियो फिरिसकेको किसानले बताएका छन् । लालबन्दी नगरपालिका–१६, परवानीपुरका कृष्ण गौतमले कालिन्जोर खोलाको कुलोबाट पानी लाग्ने आफूहरुको क्षेत्रमा अधिकांश किसानले धान रोपाइँ सकिसकेका जानकारी दिनुभयो ।
गौतमले धानमा हरियो फिरेर गाँज हाल्न थालिसकेकाले रासायनिक मल हाल्न थालिसकेको बताउनुभयो । “कुलोको पानी लाग्ने भएकाले हाम्रोतिर सबैजसोले रोपाइँ सकिसकेका छन्,” गौतमले भन्नुभयो, “दुई दिनदेखि परेको पानीले धानबाली हुर्किन थप मद्दत पुगेको छ ।”