• १८ साउन २०८२, आइतबार

एक वर्षमा प्रादेशिक योजनाबाट बन्यो ६७ किलोमिटर सडक

blog

कालोपत्रेमा स्तरोन्नति गरिएको जिल्लाको चौरीदेउराली गाउँपालिकास्थित ढाडखर्क जिरोकिलो–सिमलबोट सुलिकोट–कात्तिकेदेउराली सडक । तस्बिर सौजन्य : पूर्वाधार विकास कार्यालय

केदार तिमल्सिना 

बनेपा, साउन १८ गते । काभ्रेपलाञ्चोक जिल्लामा एक वर्षको अवधिमा बागमती प्रदेश सरकारको लगानीमा करिब ६७ किलोमिटर सडकको काम भएको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय तथा सहरी विकास तथा भवन कार्यालयमार्फत जिल्लामा  ६६ दशमलव ८७ किलोमिटर सडकको काम गरेको हो । 

पछिल्लो आर्थिक वर्ष २०८१/०८२ मा पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा सडक कालोपत्रे, ढलान, सडक ग्राभेलिङ तथा सडकको नयाँ ट्रयाक निर्माण गरी कुल ५६ दशमलव ७७ किलोमिटर सडकको काम गरेको हो । 

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) वीरेन्द्रकुमार बज्राचार्यले कार्यालयले एक वर्षको अवधिमा प्रादेशिक सडक यातायात गुरुयोजनामा समावेश भएको नौ दशमलव ८ किलोमिटर र गुरुयोजना बाहेक दुई दशमलव ९७ किलोमिटर गरी कुल १२ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भएको बताउनुभयो । उहाँले एक वर्षको अवधिमा १२ दशमलव ३४ किलोमिटर सडक ढलानस्तरमा स्तारोन्नति, प्रादेशिक सडक यातायात गुरुयोजनामा समावेश भएको सात दशमलव ९ किलोमिटर, गुरुयोजना बाहेकको १२ दशमलव ५ किलोमिटर सडक गरी कुल २१ दशमलव ५९ किलोमिटर सडककलाई ग्राभेलस्तरमा सडक स्तरोन्नति गरिएको बताउनुभयो । सिडिई बज्राचार्यले पछिल्लो आर्थिक वर्षमा प्रादेशिक सडक यातायात गुरुयोजनामा समावेश नभएको दश दशमलव ३४ किलोमिटर सडक नयाँ ट्रयाक निर्माण गरिएको बताउनुभयो । 

पूर्वाधार विकास कार्यालयले जिल्लामा रहेका सडकको नियमित मर्मत सम्भारका लागि ५० जना हेरालु राखेको छ । कार्यालयले दुई किलोमिटर पक्की सडकको मर्मत सम्भार, दुई किलोमिटर पक्की, दुई किलोमिटर सडक ग्राभेलस्तरमा पटके मर्मत सम्भार गरेको जनाएको छ । कार्यालयले पछिल्लो एक वर्षको अवधिमा २३ वटा सडक पुलमध्ये तीन वटा पुलको निर्माण सम्पन्न गरेको छ भने २० वटा सडक पुलको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार गरेको छ । चार वटा सडकमा कल्भर्ट निर्माण गरेको छ । सिडिई बज्राचार्यले गत आवमा कार्यालयले जिल्लामा २० किलोमिटर सडक कालोपत्रेमा स्तरोन्नती गर्ने लक्ष्य राखे पनि गत असोज महिनाको बाढी पहिरोका कारण महाभारत गाउँपालिका जाने सडकमा सोचे अनुरूपको काम हुन नसकेका कारण लक्ष्य अनुसारको सडक कालोपत्रे गर्न नसकिएको बताउनुभयो । कार्यालयले प्रादेशिकतर्फ बहुवर्षीय योजनातर्फ १७ वटा सडक, दस वटा झोलुङ्गे पुल गरी प्रादेशिकतर्फका २७ वटा, सालवसालीतर्फ ११ वटा सडकको काम सम्पन्न हुन नसकेको जनाएको छ । त्यस्तै सात वटा सालवसाली सडक कार्यान्वयनमा नगएको सिडिई बज्राचार्यले बताउनुभयो । 


यसैगरी सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकले गत आर्थिक वर्ष २०८१/०८२ मा तीन सय मिटर सडकलाई कालोपत्रेमा स्तरोन्नति गरेको छ भने नौ दशमलव ८ किलोमिटर सडकलाई ढलानस्तरमा स्तरोन्नति गरेको छ । भवन कार्यालयले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लामा काम गर्दै आएको छ । भवन कार्यालयले तीन वटा सरकारी भवन, ११४ वटा सामुदायिक भवन, एउटा पार्क, चार वटा पदमार्ग/पर्खाल निर्माण गरिएको छ भने जनता आवास कार्यक्रम अन्तर्गत ४० वटा घर र खरको छानो उन्मुलन कार्यक्रम अन्तर्गत ४० वटा घरको काम गरिएको भवन कार्यालयले जनाएको छ ।