• १६ साउन २०८२, शुक्रबार

बजेट सुनिश्चित नहुँदै आयोजनाको विस्तृत प्रतिवेदन, डिपिआरमै बाउन्न लाख खर्च

blog

दैलेख समाचारदाता

दैलेख, साउन १५ गते । सार्वजनिक खरिद ऐन, २०६४ मा सार्वजनिक निकायमा उपलब्ध जनशक्तिबाट काम हुन नसक्ने भएको खण्डमा कुनै व्यक्ति, फर्म वा कम्पनीबाट परामर्शदाता सेवा लिन सक्ने प्रावधान छ । तर स्थानीय सरकारले सो व्यवस्थालाई मिच्दै आफन्तलाई काम दिने निहुँमा बजेट सुनिश्चित नहुँदै आयोजनाको विस्तृत प्रतिवेदन (डिपिआर) मा लाखौँ रकम खर्च गर्ने गरेका छन् । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाले गत आर्थिक वर्षमा नगरपालिकाका छ वटा आयोजनाको डिपिआर निर्माण गर्न ५२ लाख पाँच हजार ९६९ रुपियाँ खर्च गरेको पाइएको छ । 

महालेखाको प्रतिवेदनमा उल्लेख गरिए अनुसार पादुका र रामाघाटखोलाको आइइई गर्न आइफिल इन्जिनियरिङ कन्सल्टेन्सीलाई चार लाख ५७ हजार ६५० रुपियाँ, चामुण्डादेवीको मन्दिरमा धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्न पादुका इन्जिनियरिङ सोलुसनलाई नौ लाख ९२ हजार २०५ रुपियाँ, बिन्द्रासैनीखाट काल्चेकाँधको डिपिआर गर्न एक्सिस इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सर्भिसेजलाई चार लाख ९७ हजार २५२ रुपियाँ, बडाल बुडेली चाल्ने सिमसेर सडकको पिसिआर इन्जिनियरिङ कन्सल्टिङ प्रालिलाई सात लाख ९६ हजार ६५० रुपियाँ, चामुण्डा बिन्द्रासैनी जम्बुकाँध मजुवा खानेपानी आयोजना प्रिकसा कन्सल्टेन्सी प्रालिसँग १४ लाख ८९ हजार १७० रुपियाँ, भण्डारी लेप्टे सडकको डिपिआर ड्रिम हावस इन्जिनियरिङ प्रालिलाई नौ लाख ७३ हजार ४२ रुपियाँ गरी ५२ लाख पाँच हजार ९६९ रुपियाँ भुक्तानी गरेको छ । 

नगरपालिकाले त्यति ठुलो रकम खर्च गरेर परामर्शदाताले निर्माण गरेका आइइई र डिपिआरमध्ये चामुण्डा बिन्द्रासैनी जम्बुकाँध मजुवा खानेपानी योजनाबाहेक कुनै पनि योजना कार्यान्वयन नगरेकोसमेत महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै नारायण नगरपालिकाले गत आवमा पाँच वटा आयोजनाको डिपिआर तयार गर्न पाँच लाखका दरले २५ लाख रकम स्वीकृत गरी खर्च ग¥यो । नगरपालिकाले त्रिवेणीमा १५ शय्या नगर अस्पताल निर्माणको डिपिआर गर्न पी इन्जिनियरिङ आर एन्ड कन्सल्टेन्सी कन्स्ट्रक्सन, लोहोरे बिजौरा फुलबारी लिफ्टिङ आयोजना ६ र ७ को डिपिआर हाई भिजन इन्जिनियरिङ प्रालि, भिरमौरादेखि लुक्षेकाँडा हुँदै तौलिया देवलकाँडा सडक सर्भेक्षण कार्यका लागि काइरभ इन्जिनियरिङ कन्सल्टेन्सी, वडा नं. १० भवानीको वडा कार्यालय तौलियासम्मको सडक स्तरोन्नति कार्यका लागि नेपाल इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट एसोसिएट्स खौला राजीगाउँ पिपलडाँडा सडक स्तरोन्नति कार्यका लागी पञ्चकोशी इन्जिनियरिङ कन्सल्टेन्सीलाई डिपिआर निर्माणको जिम्मा दिई उक्त रकम खर्च ग¥यो । 

नारायण नगरपालिकाका इन्जिनियर हिक्मत रोकायाले पाँच वटा आयोजनाको डिपिआर तयार गरेको भए पनि दुई वटा आयोजनामा मात्र बजेट आएर खर्च भएको बताउनुभयो । उहाँले वडा नं. १० को वडा कार्यालयदेखि तौलिहवा सडकको स्तरोन्नति कार्य र खौला राजीगाउँ पिपलडाँडा सडक स्तरोन्नति कार्यमा गत आवमा काम भएको जनाउनुभयो । जिल्लाका अधिकांश स्थानीय तहले बजेटको सुनिश्चित नहुँदै डिपिआर निर्माण गर्ने गरेका छन् । आफूनजिक र आफन्तलाई काम दिने नाममा बजेटको स्रोतको सुनिश्चित नहुँदै डिपिआरको योजना निर्माण गर्ने गरेको पाइएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले योजनाका लागि बजेट माग्न जाँदा त्यसको डिपिआर र आइइई गरेको रिपोर्ट माग्ने गरेका कारण स्थानीय सरकारले डिपिआर तयार गर्ने गरेको बताउनुभयो । उहाँले नगरपालिकाले डिपिआर निर्माणका लागि बजेट खर्च गरे पनि सम्बन्धित निकायले बजेट नहाल्दा समस्या रहेको जिकिर गर्नुभयो । 

नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसमबहादुर बुढाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्नुको प्रमुख उद्देश्य भनेको बजेट माग गर्दा सहज हुने बताउनुभयो । उहाँले विभिन्न निकायमा बजेट माग गर्दा नै आयोजनाको विस्तृत प्रतिवेदन माग गर्ने परम्पराका कारण स्थानीय तहले निर्माण गर्ने बताउनुभयो ।