• १६ साउन २०८२, शुक्रबार

नयाँबजार–हाटखोला सडक अलपत्र

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, साउन १५ गते । हुलाकी राजमार्ग अन्तर्गत मोरङको नयाँबजारदेखि हाटखोलासम्मको सडक निर्माणको तीनबर्से अवधि सकिएर थप तीन वर्ष बित्न लाग्दा पनि हालसम्म ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । २०७६ कात्तिक २४ गते ठेक्का लागेको आयोजनाको चौथो प्याकेजमा पर्ने यस सडकको लम्बाइ छ किलोमिटर मात्र रहेको छ । सडक, नाला र विद्युत् संरचना स्थानान्तरणको काम समेटिएको यस खण्डको ठेक्का श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिले ८३ करोड ९९ लाख रुपियाँमा ठेक्का लिएको थियो । हालसम्म निर्माण कम्पनीले २४ करोड ६८ लाख ९१ हजारभन्दा बढी रुपियाँ लिइसकेको छ । यो वित्तीय प्रगतिको २६.१० प्रतिशत हो । 

सम्झौता अनुसार २०७९ कात्तिक २३ गतेभित्र काम सम्पन्न गरी हुलाकी राजमार्ग निर्देशनालयलाई हस्तान्तरण गर्नुपर्ने थियो । कालोपत्रे सडक निर्माण त कल्पनाबाहिरको कुरा, भएको सडकसमेत भत्काएर छोडेपछि उपभोक्ता हैरान भएका छन् । कटहरी गाउँपालिका क्षेत्रमा नौ किलोमिटर हुलाकी सडक पर्छ । पूर्व खण्डको तीन किलोमिटर काम पिएस÷गजुरमुखी÷मोतीदान जेभीले गरिरहेको छ । २०७६ कात्तिकमा ठेक्का लागेको यो खण्डको काम ८२ प्रतिशत सम्पन्न भएको छ । 

तर कटहरी गाउँपालिकामा पर्ने बाँकी छ किमी सडक निर्माणका लागि धर्ना, अनशन, आन्दोलन र गिरफ्दारी दिँदासमेत काम अगाडि नबढेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताउनुभयो । चौधरीले भन्नुभयो, “अरू निर्माण कम्पनीले काम सकिसके । श्रेष्ठ कन्स्ट्रक्सनले मात्र काम नगर्नुका कारण हामीले पटक पटक आयोजनासँग माग्यौँ । प्रधानमन्त्री कटहरी आउनुभएको बेलासमेत कुरा राख्यौँ । असारअघि नै कालोपत्रे हुने आश्वासन पाएका थियौँ तर यस्ता असार छ वटा गए । काम अघि बढेको छैन । अध्यक्ष चौधरीले ठेक्का खारेज गरेर पालिकालाई गर्न दियो भने आफ्नै बजेटबाट सडक निर्माण गर्न तयारी रहेको बताउनुभयो । हुलाकी सडक निर्देशनालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले निर्माण कम्पनीले समयमा भुक्तानी नपाएको, आन्तरिक समस्यामा फसेको र सरोकारवालाबिच समन्वय अभाव हुँदा काम प्रभावित भएको बताउनुभयो । म्याद थप प्रव्रिmया अगाडि बढेको सूचना अधिकारी दास बताउनुहुन्छ । यता गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले २०८२ जेठ ३२ गते म्याद सकिएको आयोजनाको असारभित्रै म्याद थपको प्रव्रिmया बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष चौधरीले कहिले भूपाल श्रेष्ठले काम गर्ने, कहिले अभिषेक गिरीले गरिरहेको म्याद थप हुनेमा शङ्का रहेको बताउनुभयो । 

हुलाकी सडक निर्देशनालय इटहरीका सूचना अधिकारी इन्जिनियर दासका अनुसार मोरङमा हुलाकी सडकको ४५ किमी भाग पर्छ । जसमध्ये रतुवाखोलादेखि रङ्गेलीसम्मको साढे १६ किमी सडक पिएस/गजुरमुखी/मोतीदान जेभीले २०८० असार मसान्तमै निर्माण सम्पन्न गरिसकेको छ । यस्तै यही समूहले गरिरहेको बतौना–नयाँ बजार सडकखण्डको ११.९० किमी लम्बाइको सडकको हाल ८२ प्रतिशत काम सकिएको छ । रङ्गेलीदेखि बेतौनासम्मको ७.४० किमी कालिका/मैनाचुली/वेदांशी जेभीले ठेक्का पाएको थियो । यो खण्डको काम पनि २०८० सालको असार मसान्तमा सम्पन्न भइसकेको छ ।