नेपालगन्ज समाचारदाता
नेपालगन्ज, साउन १५ गते । पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ७४ अर्ब रुपियाँभन्दा बढीको व्यापार घाटा भएको छ ।
जमुनाहा नाकाबाट आयातको तुलनामा अति नै न्यून परिमाणमा निर्यात भएकाले यस नाकाबाट ७४ अर्ब ३२ करोड ३२ लाख ३० हजार रुपियाँको व्यापार घाटा भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार गत आवमा आयातनिर्यातको तुलना गर्दा यो नाकाबाट ९६ प्रतिशत व्यापार घाटा भएको हो ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आवमा नेपालगन्ज नाकाबाट ७७ अर्ब ५३ करोड आठ लाख ७१ हजार रुपियाँको आयात भएकोमा तीन अर्ब २० करोड ७६ लाख ४१ हजार रुपियाँको मात्र निर्यात भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अघिल्लो आव २०८०/८१ मा नेपालगन्ज नाकाबाट ७० अर्ब २१ करोड ५९ लाख चार हजार रुपियाँको आयात भएकोमा दुई अर्ब ४१ करोड ९० लाख ८३ हजार रुपियाँको निर्यात हुँदा ६७ अर्ब ७९ करोड ६८ लाख २१ हजार रुपियाँ अर्थात् ९७ प्रतिशत व्यापार घाटा भएको थियो । गत आवमा अघिल्लो आवको तुलनामा एक प्रतिशत मात्र व्यापार घाटा घटेको पाइएको छ ।
भन्सार कार्यालयका प्रमुख पौडेलले यो नाकाबाट निर्यात एकदमै न्यून हुँदा यति धेरै व्यापार घाटा देखिएको जनाउँदै निर्यात बढाउने र आयात घटाउने अभियानमा सबै उद्योगी व्यवसायी लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा स्थानीय व्यापारी अब्दुल वाहिद मन्सुरीले सरकारले निर्यातलाई बढाउने र आयातलाई घटाउने गरी नीति र योजना नबनाएसम्म व्यापार घाटा यस्तै रहने बताउनुभयो । उहाँले यस नाकाबाट सबैभन्दा बढी जडीबुटीको निर्यात हुने गरेकोमा जडीबुटी निर्यातलाई सरल र सहज बनाउँदै लैजानुपर्ने समेत माग गर्नुभयो ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा कपडा व्यवसायी नन्दलाल वैश्यले आयात घटाउँदै निर्यात वृद्धि गर्ने उद्देश्यका साथ नेपालगन्ज नाकामा आइसिपी सञ्चालनमा ल्याए पनि अपेक्षा गरे अनुसार निर्यात बढ्न नसक्नु दुःखद भएको बताउनुभयो ।