• १६ साउन २०८२, शुक्रबार

लागुऔषध कारोबार बढ्दो : अभियुक्तको सङ्ख्या हालसम्मकै उच्च

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन १५ गते । लागुऔषको अवैध कारोबार, ओसारपसार र प्रयोगविरुद्ध कडाइ सुरु गरिएपछि पछिल्लो एक वर्षमा हालसम्मकै धेरै लागुऔषध बरामद भएको छ । प्रहरीले यस अवधिमा हालसम्मकै धेरै लागुऔषध कारोबारी पक्राउ गरेको छ । गृह मन्त्रालयले यस वर्ष लागुऔषधको अवैध कारोबार र ओसारपसारविरुद्ध महाअभियान सञ्चालन गरेको छ ।

गृहमन्त्री रमेश लेखकले जिम्मेवारी समालेपछि लागुऔषधको अवैध कारोबार असोरपसार नियन्त्रण, सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमलाई सुरक्षाका मुख्य चुनौती रहेको औल्याउँदै नियन्त्रणमा सक्रियता अपनाउने घोषणा गर्नुभएको थियो ।

काठमाडौँ उपत्यकामा प्रहरीमार्फत लागुऔषधविरुद्धको महाअभियान नै सञ्चालनमा छ । मुलुकभर विभिन्न कार्यक्रममार्फत लागुऔषधसम्बन्धी सचेतनासँगै कारबाहीलाई पनि दु्रत गतिमा अघि बढाएपछि यसका परिणामसमेत आउन थालेका छन् । 

पछिल्लो एक वर्षमा मात्र प्रहरीले मात्रै लागुऔषध मुद्दामा सात हजार ९४३ जना स्वदेशी तथा विदेशी अभियुक्त पक्राउ गरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा छ हजार ७४२ जना पक्राउ परेकामा यस वर्ष सात हजार १९७ पुरुष, ४२१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य मुलुकका नागरिक रहेको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनमा एक हजार २०१ बढी हो । गत वर्ष लागुऔषधका पाँच हजार ११० मुद्दा दर्ता भएका थिए भने २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरोहोरोइन, ८२९ किलोग्राम चरेस र उल्लेख्य मात्रामा गाँजा बरामद भएको छ । 

त्यसै गरी एक वर्षको अवधिमा एम्पुल दुई लाख २० हजार ४१०, नाइट्राजेपाम ९३ हजार ४२४, कोडिन सिरप (कोरेक्स) आठ हजार ९४० लगायत ठुलो मात्रामा अन्य लागुऔषध प्रहरीले बरामद गरेको छ । अघिल्लो आर्थिक वर्षभन्दा यस वर्षमा कोकिन मात्रै सात किलोग्राम बढी बरामद भएको ब्युरोको तथ्याङ्कमा उल्लेख छ ।

ब्युरोका अनुसार आव २०७९/८० मा लागुऔषधसम्बन्धी चार हजार १०० मुद्दा दर्ता भई छ हजार १८६ जना पक्राउ परेका थिए भने आव २०८०/८१ मा चार हजार ४२४ मुद्दा दर्ता भई छ हजार ७४२ जना पक्राउ गरिएको थियो । खैरोहिरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोललगायत अन्य औषधी मुलुकभित्र प्रयोग बढ्दो रहेको छ भने कोकिन, अफिम, चरेस र गाँजा भारत तस्करी हुने गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो र ब्युरोमातहतका १० वडा कार्यालय यसको नियन्त्रणमा सक्रिय छन् । ब्युरोको विवरण अनुसार पनि गत आवमा मात्रै एक हजार ६७५ जनालाई मुद्दा चलाइएको छ । अघिल्लो आवमा ब्युरोले एक हजार १९३ जनाविरुद्ध मुद्दा चलाएको थियो भने आव २०७९/८० मा ब्युरोले ९३७ जनाविरुद्ध मुद्दा चलाएको थियो । 

त्यसै गरी सशस्त्र प्रहरी बलले पनि लागुऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ । बितेको एक वर्षमा सशस्त्र प्रहरी बलले लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न ४६० जनालाई पक्राउ गरेको छ ।