गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १५ गते । दुई वटा फरक प्याकेजमार्फत नयाँ राहदानी छापिने भएको छ । राहदानी विभागले ६४ लाख नयाँ राहदानी छपाइका लागि दुई नयाँ कम्पनीलाई प्याकेज १ र प्याकेज २ अन्तर्गत छनोट गरी राहदानी छपाइको प्रक्रिया अघि बढाएको हो ।
प्याकेज १ अन्तर्गत प्रिइनरोलमेन्ट, इनरोलमेन्ट डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमको ठेक्का जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिसलाई एक अर्ब ५५ करोडमा दिइएको छ । प्याकेज २ को ठेक्का पनि जर्मनीकै भेरिडास कम्पनीलाई छ अर्ब ११ करोडमा प्रदान गरिएको छ । दुई कम्पनीसँग छुट्टाछुट्टै सम्झौताको तयारी भएकोमा प्याकेज २ को भेरिडाससँग सोमबार हस्ताक्षर भएको विभागले जनाएको छ । प्याकेज १ को कम्पनीसँग एक/दुई दिनभित्र सम्झौताको तयारी छ ।
विभागका महानिर्देशक तीर्थ अर्यालले पहिलेको कम्पनीको सम्झौता अवधि सकिएकाले नयाँ छपाइका लागि दुई कम्पनी प्रतिस्पर्धात्मक बोलपत्रमार्फत छनोट भएको जानकारी दिनुभयो । जर्मनीकै दुई वटा कम्पनी छनोट हुँदा हाल काम गरिरहेको कम्पनीले नपाएपछि पुनरवलोकसँगै विवादको अवस्था पनि सिर्जना भएको थियो ।
सन् २०२० मा २० लाख विद्युतीय राहदानी छपाइका लागि छनोट भएको आइडिमियाले पटक पटक म्याद थप गरेर ५० लाखभन्दा बढी राहदानी छापिसकेको छ । थोरै मात्र राहदानी मौज्दात रहेकाले छिटो नयाँ राहदानी छपाइ गर्नुपर्ने दबाब विभागलाई आइपरेको छ । सर्त अनुसार सम्झौता गरेको २१० दिनभित्रमा छनोट भएका कम्पनीले राहदानी छपाइ गरेर विभागलाई दिनुपर्ने हुन्छ ।
यसरी छापिने छ नयाँ राहदानी
छनोट भएका कम्पनीले नेपालको आवश्यकता अनुसार प्रतिदिन छ घण्टामा छ हजार प्रति राहदानी छपाइ गर्नुपर्ने छ । महानिर्देशक अर्यालले भन्नुभयो, “त्यसरी छाप्दै गर्दा ९९.७ प्रतिशत उपलब्धताको बेन्च मार्क तोकेका छौँ, छनोट भएका कम्पनीले त्यो माग पूरा गर्छौं भन्ने प्रतिबद्धता दिएको छ ।”
विभागका प्रवक्ता शत्रुध्वन पोखरेलका अनुसार प्राविधिक रूपमा विभागले खरिद गर्दा राहदानी नै किनेको होइन । सोलुसन अर्थात् राहदानी बनाउने कुरा किनेको हो । त्यसले जे जे चाहिन्छ, त्यो आवश्यकता पूरा गर्ने सामग्री सबै कम्पनीले ल्याउनुपर्ने कम्पनीको दायित्वमा तोकिएको छ ।