• १५ साउन २०८२, बिहिबार

लागुऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियता

blog

गृहमन्त्री रमेश लेखक ।

काठमाडौँ, साउन १४ गते । गृहमन्त्री रमेश लेखकले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै नयाँ चार चुनौती औँल्याउनुभयो । लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण गर्नु पहिलो हो । लागुऔषधसँगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइमजस्ता चुनौती थपिएको निष्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाउनुभएका गृहमन्त्री लेखकको पहिलो वर्षको कार्यकालमा लागुऔषधविरुद्ध मुलुकभर नियन्त्रणका लागि महाभियान सञ्चालन गर्नुभयो ।

काठमाडौँ उपत्यकामा लागुऔषधविरुद्धको प्रहरीमार्फत महाभियान सञ्चालन भइरहेका छन् । गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रणका लागि मातहतका प्रहरीका साथै आमनागरिक, अभिभावकलगायत सरोकार भएका निकायले महाभियानमा साथ दिनुपर्नेमा जोड दिनुभयो । मुलुकभर विभिन्न कार्यक्रममार्फत लागुऔषध सम्बन्धी सचेतनासँगै कारबाहीलाई पनि द्रुतगतिमा अघि बढाएका मन्त्री लेखकले गति दिएअनुसारको सफलता प्राप्त हुँदै गएको छ ।

मन्त्री लेखकले नेतृत्व सम्हालेयता बितेको एक वर्षमा नेपाल प्रहरीले मात्रै लागुऔषध मुद्दामा सात हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ । जुन पक्राउ सङ्ख्या अघिल्लो आर्थिक वर्षभन्दा एक हजार २०१ बढी हो । अघिल्लो आव २०८०/८१ मा छ हजार ७४२ जना पक्राउ परेका थिए । गत आव २०८१/८२ मा पक्राउ पर्नेमा सात हजार १९७ पुरुष, ४२१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य मुलुकका नागरिक रहेका प्रहरीको लागूऔष नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा लागुऔषधका पाँच हजार ११० मुद्दा दर्ता भएका छन् । 

यो अवधिमा २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरो हिरोइन, ८२९ किलोग्राम चरेश र ५१४३९ ग्राम गाँजा बरामद भएको छ । त्यसै गरी एक वर्षको अवधिमा एम्पुल २२०,४१०, नाइट्राजेपाम ९३,४२४, कोडिन सिरप (कोरेक्स) ८९४० लगायत ठुलो मात्रामा अन्य लागुऔषध प्रहरीले बरामद गरेको छ ।

अघिल्लो आवभन्दा मन्त्री लेखकको कार्यकालको पहिलो वर्षमा कोकिन मात्रै सात किलोग्राम विगतभन्दा बढी बरामद भएको ब्युरोको तथ्याङ्कबाट देखिन्छ । ब्युरोको तथ्याङ्कअनुसार आव २०७९/८० मा लागुऔषध सम्बन्धी चार हजार १०० मुद्दा दर्ता भई छ हजार १८६ जना पक्राउ परेका थिए भने आव २०८०/८१ मा चार हजार ४२४ मुद्दा दर्ता भई छ हजार ७४२ जना पक्राउ गरिएको थियो । 

मन्त्री लेखकले लागुऔषध नियन्त्रण तथा अवैध ओसारपसारलाई नियन्त्रण उच्च प्राथमिकतामा राखेकाले सफलता हासिल हुँदै गएको छ । सवारी दुर्घटना बढ्नुका साथै आत्महत्या, साइबर क्राइमलगायत आपराधिक घटनाका पछाडि पनि लागुऔषध प्रयोग एउटा कारकका रूपमा देखिएको ब्युरोको भनाइ छ । खैरोहिरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोललगायतका अन्य औषधी मुलुकभित्र प्रयोग बढ्दो छ भने कोकिन, अफिम, चरेश र गाँजा भारत तस्करी हुने गरेको छ । 

प्रहरीले देशभरका जिल्ला प्रहरी कार्यालयमा अभियुक्तविरुद्ध मुद्दा चलाउँदै आएको छ भने लागूऔषध नियन्त्रण ब्युरो र ब्युरो मातहतका दस वडा कार्यालय यसको नियन्त्रणमा सक्रिय छन् । ब्युरोको विवरणअनुसार पनि गत आवमा मात्रै एक हजार ६७५ जनालाई मुद्दा चलाइएको छ । अघिल्लो आवमा ब्युरोले एक हजार १९३ जनाविरुद्ध मुद्दा चलाएको थियो भने आव २०७९/८० मा ब्युरोले ९३७ जनाविरुद्ध मुद्दा चलाएको थियो । विवरणअनुसार ब्युरोको सक्रियता बढेकै कारण अभियुक्तहरू पक्राउ पर्ने क्रम बढेको छ । 

त्यसै गरी सशस्त्र प्रहरी बलले लागुऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ । बितेको एक वर्षमा सशस्त्र प्रहरी बलले लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न ४६० जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले ‘नशारहित युवा-हाम्रो देशका कर्णधार, सिमानाको रक्षा-राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागुऔषध नियन्त्रणमा जुटेको छ । सशस्त्र प्रहरी बलले यो अवधिमा ठुलो मात्रामा लागुऔषध समेत सीमानाका क्षेत्रबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले जानकारी दिनुभयो । रासस