• १० साउन २०८२, शनिबार

एक हप्तामै उप्कियो कालोपत्रे

blog

सडकको कालोपत्रे हातले उप्काउँदै स्थानीय ।

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), साउन ९ गते । कर्णाली राजमार्ग अन्तर्गत जुम्ला ट्राफिक प्रहरी कार्यालयनजिकै गरिएको कालोपत्रे एक हप्तामै उप्किएको छ । सडक डिभिजन कार्यालय जुम्लाले गरेको कालोपत्रे गुणस्तरहिन भएको भन्दै स्थानीयले उप्काएका छन् । हालै गरिएको कालोपत्रे सडक सतहबाट छुट्टिएर हातैलेसमेत उप्काउन सकिने अवस्थामा पुगेको छ । 

“यो त खेलौना जस्तो बनेको छ, हामीले हातैले निकाल्यौँ,” एक स्थानीय बिवेन्द्र नेपालीले बताउनुभयो । कार्यालयको अनुगमन र सुपरिवेक्षणमा कमजोरी देखिएको छ । पिरियोडिक (पिचमाथि पिच गर्र्ने) मर्मतको नाममा खर्चिएको रकमको दुरुपयोग भएको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । 

यता सडक डिभिजन कार्यालयका इन्जिनियर सौरभ सिंहले प्रारम्भिक रूपमा कार्यालयको कमजोरी रहेको बताउनुभयो । पुरानो पिचमा बेस राम्रो नभएकाले हाल गरिएको पिरियोडिक मर्मत अन्तर्गतको कालोपत्रे उप्किएको हो । पुरानो पिचमाथि नयाँ कालोपत्रे गरिएको उहाँको भनाइ छ । पानी परेको र चिसोमा पहिले गरेको पिचमा कालोपत्रे गरिएकाले उप्किएको उहाँले स्विकार गर्नुभयो । यता उज्वल सानदार जेभीका दीपक न्यौपानेले अन्य ठाउँमा गरिएको कालोपत्रेमा समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पिरियोडिक मर्मत अन्तर्गत ट्राफिक प्रहरी कार्यालयनजिकै गरिएको कालोपत्रे उप्किएको हो । यसलाई स्विकार गर्छौं ।” प्राविधिक कमजोरीले गर्दा समस्या आएको र उक्त ठाउँमा पुनः कालोपत्रे गरिने न्यौपानेले बताउनुभयो । सडक डिभिजन कार्यालय जुम्लाले २०८१ पुस २९ गते जुम्ला बजारदेखि नाग्मसम्मको सडकखण्डमा ३० किलोमिटरमध्ये साढे २२ किलोमिटर पिचमाथि पिच गर्ने र साढे छ किलोमिटर सडकमा नयाँ पिच गर्नका लागि उज्वल सानदार जेभीले सम्झौता गरेको थियो । उक्त ठेक्काको अवधि २०८१ असार २५ गतेसम्म कायम गरिएकोमा निर्धारित समयमा निर्माण व्यवसायीले काम गर्न नसक्दा आउने असोज २९ गतेसम्म पुनः म्याद थप गरिएको छ ।

साढे २२ किलोमिटर पिचमाथि पिच गर्ने र साढे छ किलोमिटर सडक नयाँ पिच गर्नका लागि कार्यालयले १० करोड रकम खर्चिने भएको छ । हाल २१ किलोमिटर सडक पिचमाथि पिच गरिएको छ ।