• १० साउन २०८२, शनिबार

खुटी नहर सञ्चालन गर्न माग

blog

खुटी नहर सञ्चालनका लागि लहान–१० मा निर्माण गरिएको हेडवक्र्स । तस्बिर : जीवछ यादव

लहान समाचारदाता

लहान, साउन ९ गते  । लहानको पूर्वी किनारा भएर बग्ने खुटी नदीबाट सिँचाइका लागि  निकालिएको नहर सञ्चालनमा ल्याउन किसानले माग गरेका छन् । लहानका पूर्वनगरप्रमुख मुनि साहले चार वर्ष अगाडि प्रदेश सिँचाइ विभागको सहयोगमा आठ करोड ७२ लाख रुपियाँको लागतमा हेडवक्र्स निर्माण गरी लहानका दक्षिणी भेगका किसानको खेतमा सिँचाइका लागि खुटी खोलाको पानी पु¥याउने लक्ष्य लिनुभएको थियो । हेडवक्र्सबाट सहरी क्षेत्र भएर गएको नहर हुँदै किसानको खेतमा पानी पुग्ने आस भएपछि किसान खुसी भएका थिए । 

तर लहान नगरपालिकाले सहरी क्षेत्रबाट बग्ने सो नहरमा ह्युमपाइप राखेर नहरलाई फोहोर निकाल्ने ड्रेनका रूपमा प्रयोग गर्न आठ करोड रुपियाँको टेन्डर गरेर काम सुरु गरेपछि नहरको पानी प्रयोग गर्ने किसान खुटी नहर किसान सङ्घर्ष समिति गठन गरेर आन्दोलन गरेपछि उक्त योजना लहान नगरपालिकाले रद्द गरेको किसान सङ्घर्ष समितिको संयोजक धर्मराज चौधरीले बताउनुभयो । 

यस वर्ष वर्षा नहुँदा खानेपानीका लागि प्रयोग गर्ने हातेकल  सुक्नुका साथै सिँचाइका लागि नहर सञ्चालनमा ल्याउन सकिन्छ कि भन्ने उद्देश्यले किसान सङ्घर्ष समितिका अगुवा किसान र नागरिक समाजका अगुवा सत्यनारायण यादव, प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी, पूर्वप्रदेश सभा सदस्य अशोककुमार यादवलगायत किसानले नहर सञ्चालनका लागि माग गरेका छन् । हेडवक्र्स रहेको लहान–१० मा जेसिबी लगाएर नहरलाई सरसफाइ गर्न उनीहरूले प्रयास गर्दा पनि नगरपालिकाको असहयोगका कारण हुन नसकेको प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो   । उहाँले भन्नुभयो, “लहान नगरपालिकाले नहरको पानी निकासका लागि जेसिबी माग्दा उपलब्ध नगराउनु विडम्बना हो । खुटी नहर सञ्चालनका लागि पटक पटक प्रदेशका मन्त्रीले आश्वासन दिए पनि त्यो पूरा हुन सकेको छैन । चन्द्रशमशेरको पालामा निर्माण भएको खुटी नहर सञ्चालनका लागि पटक पटक किसानले आवाज उठाउँदै आएपछि पूर्वनगरप्रमुख मुनि साहको कार्यकालमा  हेडवक्र्स निर्माण भएको थियो ।”

नहर सञ्चालनका लागि वर्तमान लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले रुचि नदेखाएपछि सङ्घर्ष समिति गठन गरेर आन्दोलन गर्नु परिरहेको किसान सङ्घर्ष समितिका संयोजक धर्मराज चौधरीले गुनासो गर्नुभयो । 

लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले नहरमा ह्युमपाइप राखेर किसानको खेतमा पानी पनि पु¥याउने लक्ष्यले काम गर्न खोज्दा राजनीति प्रतिशोधका कारण सङ्घर्ष समिति गठन गरेर समस्या खडा गरिएको बताउनुभयो । खुटी नहर सञ्चालनमा आए लहान नगरपालिकाका वडा नम्बर १, २, ३, १९, २०, २१, २२ र २३ सखुवानानकरपट्टी र भगवानपुर गाउँपालिका गरी ९३५ बिघा खेतमा सिँचाइ हुने छ । मानव अधिकारकर्मी  राजकुमार राउतको नहरको सञ्चालनको सबै पक्ष सकारात्मक भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।