• ३ जेठ २०८३, आइतबार

नागरिकता सिफारिसमा आमाको नाम अनिवार्य

blog

भक्तिविलास पोखरेल 

गाईघाट, साउन ९ गते । जिल्ला प्रशासन कार्यालय उदयुरले नेपाली नागरिकताको प्रमाणपत्रमा आमाको नाम अनिवार्य समावेश गर्न जिल्लाका सबै पालिका र वडा कार्यालयलाई परिपत्र गरेको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ बमोजिम नयाँ नागरिकताको प्रमाणपत्र लिन सिफारिस गर्दा आमाको नामसमेत अनिवार्य रूपमा लेखेर सिफारिस गर्न पालिका र वडालाई परिपत्र गर्नुभएको हो । 

प्रजिअ लुइटेलले यसअघि सम्बन्धित वडाध्यक्षले नागरिकताको प्रमाणपत्र लिन आउने जोकोहीलाई सिफारिस गर्दा आमाको नाम उल्लेख गर्नुपर्ने महलमा खाली नै राखेर सिफारिस गर्ने गरिएको थियो । अब यसरी खाली राख्न नमिल्ने र सनाखत गर्न आउने व्यक्तिले आमाको नागरिकताको सक्कल प्रमाणपत्रसमेत साथै लिएर आउनुपर्ने गरी पालिका र वडालाई परिपत्र गरिएको उहाँले बताउनुभयो । 

अनलाइन प्रणालीमार्फत सिफारिस हुने नयाँ नागरिकता अनुसूची फाराममा आमाको महल खाली नराखी आमाको नागरिकताबमोजिमको नाम उल्लेख गरी पूर्ण विवरण भरी पठाउनु भनिएको र सनाखत गर्न आउने व्यक्तिलाई अन्य कागजातका साथै आमाको समेत सक्कल नागरिकता लिएर जान सूचित गरिदिन वडा कार्यालयलाई अनुरोध गरिएको छ ।

नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ मा बाबा, आमालगायतको  नामसहितको विवरण उल्लेख गरेर फारम भर्नुपर्ने कानुनी प्रावधान भएको भए पनि अहिलेसम्म कुनै पनि वडाले उक्त अनुसूचीमा बाबाको नामबाहेक अन्य विवरण उल्लेख नगर्ने गरेको हुँदा अब उप्रान्त उक्त अनुसूचीमा उल्लेखित सबै विवरण अनिवार्य उल्लेख गरेर पठाउन भनिएको प्रमुख जिल्ला अधिकारी लुइटेलले बताउनुभयो । 

यसरी अनुसूचीमा सबै विवरण भरेर आउँदा नयाँ नागरिकता प्राप्त गर्ने छोराछोरीले आफ्नो नागरिकतामा आमा र बाबा दुवै जनाको नाम उल्लेख गरिएको नागरिकता पाउने भन्दै यसले भविष्यमा नाता प्रमाणितलगायतका विषयमा कुनै किसिमको झमेला नआउने र अब यो नियमलाई जिल्ला प्रशासन कार्यालय उदयपुरले कडाइका साथ लागु गर्ने पनि प्रजिअ लुइटेलले बताउनुभयो ।