काठमाडौँ, साउन ८ गते। संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन विकासका लागि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ।
नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित ‘दृश्यमा कोशी प्रदेश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “पर्यटन पूर्वाधार विकासका लागि लगानी आवश्यक पर्छ। सरकार एक्लैले सबै कुरा गर्न सक्दैन। यसका लागि नीजी क्षेत्रलाई लगानीका लागि रातो कार्पेटमा स्वागत गर्नुपर्छ।’’
मन्त्री पाण्डेले मन्त्रालयले अहिले नीतिगत सुधारमा विशेष ध्यान दिएको उल्लेख गर्दै निजी क्षेत्रलाई सहज लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ।
मन्त्री पाण्डेले भन्नुभयो, “पर्यटन मन्त्रालयसँग सबैतिरबाट अपेक्षा धेरै हुने भए पनि सरकारले निर्माण गर्ने बजेट प्राथमिकतामा कम पर्ने गरेको छ। अन्य मन्त्रालयको तुलनामा पर्यटन मन्त्रालयको बजेटको आकार निकै सानो छ। त्यसकारण सीमित स्रोतसाधनका बिच हामीले काम गर्ने प्रयासहरू गरिरहेका छौं।’’
मन्त्री पाण्डेले नेपाललाई दृश्यको माध्यमबाट अझ सुन्दर बनाउन देखाउन हामी सबैले लाग्नुपर्नेसमेत बताउनुभएको छ।
मन्त्री पाण्डेले देशभन्दा बाहिरको मानिस एक पटक आएपछि पटकपटक आउने वातावरण सिर्जना गर्न गरी काम भइरहेको उल्लेख गर्दै थप्नुभयो, “विविधतापूर्ण संस्कृति र प्रकृतिलाई दृश्यमा ल्याउन सकेमा पर्यटन विकास हुने र यसले आर्थिक समृद्धिको मार्ग तय गर्छ।’’
मन्त्री पाण्डेले किरात सर्किटलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कोशी प्रदेशले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन, पर्यटन व्यवसायीलाई हौसलना प्रदान गर्न सङ्घ सरकार प्रतिबद्ध भएको समेत मन्त्री पाण्डेले बताउनुभएको छ।
मन्त्री पाण्डेले हाम्रा कयौं पर्यटकीय गन्तव्यको खोज तथा अन्वेषण नै हुन नसकेको उल्लेख गर्दै ती ठाउँको अनुसन्धान र अन्वेषण गर्ने र त्यसबाट समग्रा देशलाई नै लाभान्वित बनाउने काममा हामी काम गरिरहेका छौं।
त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पछिल्लो समय पर्यटकको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएको उल्लेख गर्नुभएको छ।
सिइओ जोशीले नेपालमा निर्माण हुने चलचित्र तथा गीतसङ्गीतका भिडियोहरूले पनि नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचार(प्रसार गरिरहेको बताउनुभएको छ। उहाँले नेपालका गन्तव्यहरुको ब्रान्डिङ गरेर विदेशी पर्यटकहरूलाई नेपाल ल्याउने प्रबर्द्धनात्मक कामहरू गर्न सबै निकायसँग सहकार्य भइरहेको समेत बताउनुभएको छ।