• ९ साउन २०८२, शुक्रबार

ताराखोलाका टोलटोलमा उद्यमी

blog

ताराखोलाकी एक महिला उद्यमी अल्लो प्रशोधन गर्दै । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, साउन ८ गते ।
जैविक गाउँपालिकाको रुपमा परिचित पश्चिम बागलुङको ताराखोलाका स्थानीयले टोलटोलमा साना उद्योग सञ्चालन गरेर रोजगार बनेका छन् । ताराखोलाका टोलटोलमा स्थानीय उत्पादनको साना उद्योग देख्न सकिन्छ ।

सदरमुकामदेखि ६० किमी पश्चिमको ताराखोलामा दर्जनौं स्थानीय उत्पादनमा युवाहरु जोडिएका छन् । गाउँमै पाइने कच्चा पदार्थबाट सामग्री बनाउने काम गरेर धेरै जना उद्यमी बनेको वडा नं. ४ की गंगा रोकाले बताउनुभयो । उहाँले २५ वर्षदेखि जङ्गलमा पाइने (चाल्ने सिस्नो) बाट कपडा बुनिरहनुभएको छ । अल्लो प्रशोधन गरेर धागो निकाल्ने र कपडा बुन्ने काममा ताराखोलाका ५० बढी उद्यमी सक्रिय छन् ।

वडा नं. ५ करिमेलाकी विष्णु रोकाले पनि वर्षेनी अल्लो बुनेरै मनग्य कमाइ गरिरहनुभएको छ । धसमर भन्ने स्थानमा उहाँहरुको अल्लो सङ्कलन केन्द्र छ । त्यहाँ सङ्कलन गरेको अल्लोलाई धागो कात्ने, कपडा बुन्ने काममा धेरै महिला सहभागि छन् । तालिमका लागि प्रशिक्षकको रुपमा पनि उनीहरुलाई निम्तो आउँछ । जैमिनी नगरपालिका, बडिगाड गाउँपालिका लगायतका स्थानमा पुगेर अल्लो उद्यमी तयार गरेको गंगाले बताउनुभयो ।

वडा नं. २ को अर्गलमा ढाकाको सामान बनाउनेहरु छन् । चार वर्षअघि बागलुङ नगरपालिका– १० की यामकुमारी थापाले ताराखोला पुगेर समूहलाई तालिम दिएपछि यहाँका २० महिलाले नियमित ढाकाको सामग्री बनाइरहेका छन् । ढाकाको कपडा सहरी क्षेत्रमा पनि चलनचल्तीको बन्दै गएको छ । आमा समूह, सहकारी संस्था र विभिन्न संघसंस्थाका प्रतिनिधिले ढाकाको साडी र सललाई ड्रेस बनाएर लगाउने गरेको उद्यमी थापाले बताउनुभयो ।  

ताराखोला–५ का १० जना युवा नेपाली हातेकागज बनाउन व्यस्त छन् । उनीहरुको सामाग्री गाउँघर मात्र नभइ सहरमा पनि बिक्री हुन्छ । सरकारी कार्यालयले अर्डर गरेर लैजान्छन् । यहाँ उत्पादन भएको कागजलाई रङ्गिन समेत बनाइन्छ । सिंगो कागजसहित डायरी बनाएर पनि बिक्री भएपछि उद्यमीले नियमित उत्पादन गरिरहेका छन् ।

गाउँपालिका आलु र अलैची जोनमा सूचिकृत छ । त्यसैले अधिकांश किसान आलु उत्पादनमा जोडिएका छन् । ‘‘यहाँका हरेक घरमा १ सयदेखि २ सय क्विन्टलसम्म आलु फलाउने किसान छन्’’ अर्गलका अमृत घर्तीमगरले भन्नुभयो, ‘‘घरमा खानका लागि मात्र लगाउनेहरु पनि व्यवसायिक बन्दैछन् ।’’ ताराखोलाको आलु बागलुङसहित पोखरा, बुटवल र गुल्मीसम्म प्रख्यात रहेको घर्तिमगरको भनाइ छ ।

गाउँपालिकाको कृषि शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा ताराखोलामा तीन हजार दुई सय ९७ मेट्रिकटन आलु फलेको थियो । २०८१/०८२ को भने किसानले आलु खनिरहेकाले यकिन तथ्याङ्क आइसकेको छैन । यहाँको तीन सय हेक्टरमा व्यवसायिक अलैची उत्पादन भइरहेको छ । ५० बढी उद्यमीहरु अलैची उत्पादनमा पूर्ण रोजगार बनेको गाउँपालिका अध्यक्ष धनबहादुर बिक ‘हिमाल’ बताउनुहुन्छ ।