• ९ साउन २०८२, शुक्रबार

‘नाटकले समाजलाई चलायमान बनाउँछ’

blog

रङ्गकर्मी प्रभाकर न्यौपाने

नेपाली रङ्गमञ्चमा स्थापित कलाकार प्रभाकर न्यौपानेले पहिलो नाटक ‘धनभन्दा बुद्धि ठुलो’ मा अभिनय गरेयता पछाडि फर्केर हेर्नु परेको छैन । अभिनय र निर्देशन गरेर करिब पच्चिसभन्दा बढी नाटकमा आफ्नो क्षमता देखाउनुभएको उहाँको रङ्गमञ्चको यात्रा चलचित्रसम्म आइपुग्दा झन् निखारिएको छ । यतिबेला उहाँ अभिनीत चलचित्र  ‘ताराहरू’ प्रदर्शनको तयारीमा छ । उहाँको अभिनय यात्रा र चलचित्र ताराहरूमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी : 

 चलचित्र ‘ताराहरू’ कस्तो चलचित्र हो ?

 सर्वसाधारणको जीवनसँग मेल खाने विषयवस्तुलाई चलचित्रले उठाएको छ । गहन विषयवस्तुलाई निकै मनोरञ्जनात्मक डार्क कमेडी शैलीमा प्रस्तुत गरिएको छ । मूल पात्र श्रीमान्श्रीमती भए पनि सहायक पात्रमा युवा र किशोरकिशोरीसमेत भएकाले यो सबै उमेर समूहकालाई लक्षित गरी बनाइएको छ  ।

 चलचित्रमा कसरी जोडिनुभयो ?

निर्देशक आशान्त शर्मासँग धेरै लामो समयदेखि काम गरेकाले उहाँको निर्देशनमा बन्न लागेको चलचित्रमा जोडिएको हो । रङ्गमञ्चसँगै चलचित्रमा पनि काम गर्ने रहर जागेको र कथा पनि राम्रो भएकाले चलचित्रमा जोडिएको हुँ । 


रङ्गमञ्चमा कसरी आकर्षित हुनुभयो ? 

नाचघरमा नाटक सिक्न आएदेखि मलाई रङ्गमञ्चमा आउन ढिला गरेको महसुस भएको थियो । मेरो पहिलो नाटक दृष्टिविहीनसँग थियो । अपाङ्गता भएका व्यक्तिका लागि मैले नाटक बनाउने जर्मको गरेँ । जसले मलाई यो क्षेत्रमा लागिरहन मजबुत बनायो । नेपालमा मैले पहिलो दृष्टिविहीन मान्छेलाई मञ्चमा उतारेर नाटक गराउने अवसर पाएँ । त्यसरी मेरो यात्रा अगाडि बढ्यो र आजसम्म यो अवस्थामा आइपुगेको छु । 

 

आममानिसले किन नाटक हेर्नुपर्ने जस्तो लाग्छ ?

नाटकले समाज र त्यसभित्रका अलिखित र अदृश्य आयामलाई चलायमान बनाउने काम गर्छ । तसर्थ आफ्नो अनुकूल मिलेसम्म नाटक मात्र होइन, कलासँग जोडिएका सबै विधासँग केही सम्बन्ध जोड्न म सबैलाई अनुरोध गर्छु । म आफूलाई प्रयोगवादी रङ्गकर्मी भन्न रुचाउँछु । नाटकमा दृश्यसँगै गन्धलाई पनि मैले प्रयोग गरेको छु । 


 विश्व बजारमा हाम्रो कला साहित्यको स्थान कहाँ पाउनुहुन्छ ?

हाम्रो कला साहित्य विश्व बजारमा परिचित हुँदै नभएको होइन तर जति हुनुपर्ने त्यति भएको छैन । हाम्रो कामको व्यवस्थापनलाई सुधार गरे हाम्रो पहिचान अन्तर्राष्ट्रिय मञ्चमा देखिन्छ । विश्व बजार माया, दया र दानले मात्र चल्दैन । त्यहाँ इमानदारिता, लगनशीलता र अनुशासन अलि धेरै चाहिन्छ । यस बारेमा हामीहरूले आत्मसमीक्षा गर्नु पर्छ ।