देवराम यादव
सप्तरी साउन ८ गते । सप्तरीको राजगढ गाउँपालिकामा शङ्कास्पद अवस्थामा दुईजना शव फेला परेको प्रहरीले जनाएको छ । राजगढ गाउँपालिका–५ र ३ नम्बर वडामा दुई जनाको शव फेला परेको हो ।
राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलमा बुधबार एक जना पुरुषको शव फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँले स्थानीयवासी गुलाब सिंहको धानखेतमा ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् भने मृतकको पहिचान खुल्न नसकेको बताउनुभयो ।
स्थानीय बासिन्दाले खेतमा शव देखेपछि प्रहरी चौकी पत्थरगाढामा खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रवक्ता बस्नेतका अनुसार मृतकले मुस्लिम समुदायका व्यक्तिले लगाउने जस्तो लुगा लगाएका छन् । शवको पहिचान र मृत्युको कारणबारे अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता बस्नेतले बताउनुभएको छ ।
यसैगरी, राजगाढ गाउँपालिका–३ मा मङ्गलबार एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका २१ वर्षीय जितेन्द्र यादव झुन्डिएको अवस्थामा मृत फेला परेको सप्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
उहाँले यादवको शव ससुरालीमा झुन्डिएको अवस्थामा फेला परेको बताउनुभयो । शङ्कास्पद अवस्थामा भेटिएको यादवको शव परीक्षणका लागि धरान पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।
यसैबीच सप्तरीमा कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दाका फरार दुई जना प्रतिवादीलाई पनि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी खडक नगरपालिका ९ का मो. अख्तर भन्ने मो. अकतर र छिन्नमस्ता गाउँपालिका ३ का डाँका चोरी मुद्दाका प्रतिवादी सनोज कुमार यादवलाई बुधबार नियन्त्रणमा लिएको हो ।
सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा वारदात पश्चात् फरार रहेका उनीहरूलाई खोजतलासको क्रममा फेला पारी नियन्त्रणमा लिएको सप्तरीका प्रहरी नायबउपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
जिल्ला अदालत सप्तरी राजविराजले कर्तव्य ज्यान मुद्दामा मो. अकतरलाई एक वर्ष कैद सजाय र डाँका चोरी मुद्दामा यादवलाई एक वर्ष ए महिना कैद र एक हजार रुपियाँ जरिवाना तोकेपछि उनीहरू फरार रहेका थिए ।
पक्राउ परेका दुबैजनालाई बुधबार नै सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।