• ९ साउन २०८२, शुक्रबार

मलमा ठगिँदै नेपाली किसान

blog

बबई समाचारदाता

बबई (बर्दिया), साउन ८ गते । मलको अभाव भएपछि नेपाली किसान युरिया मल र डिएपीको खोजीमा सीमावर्ती भारतीय बजार धाउन बाध्य भएका छन् तर भारतीय बजारमा जाने नेपाली कृषकबाट भारतीय व्यापारीले जथाभाबी मूल्य लिने गरेको पाइएको छ । नेपाली कृषक ठगिने गरेका छन् । 

मल लिन भारतीय बजार पुग्ने कृषकबाट भारतीय व्यापारीले चर्को मूल्य लिएर मल बेच्ने गरेको पाइएको हो । बर्दिया जिल्लासँग सीमा जोडिएको नेपाली सीमा क्षेत्रको भारतीय बजार लौकाही, बेलैगाउँ भादापुरवा, तिकुनिया, बठनिया बजार र कर्तनिया घाटमा मल खरिदका लागि जाने नेपाली कृषकबाट भारतीय व्यापारीले चर्को शुल्क लिने गरेको नेपाली कृषकले बताएका छन् । एक महिनाअघिसम्म मात्र आठ सयदेखि एक हजार रुपियाँसम्ममा पाइने युरिया मल आजभोलि भने प्रतिबोरा एक हजार आठ सयदेखि दुई हजार रुपियाँसम्म पर्ने गरेको छ । 

गुलरिया नगरपालिका–४, तुलापुरका कृषक रामसिम्रन गोडियाले भारतीय बजारमा दोब्बर मूल्य तिर्न बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक हजारमा पाइने युरिया मल आजभोलि दुई हजार रुपियाँसम्म पर्ने गरेको छ ।”

धानमा युरिया हाल्ने बेलामा नेपालमा युरिया नपाउँदा नेपाली कृषक नेपाल–भारत सीमावर्ती बजार क्षेत्रमा मल खरिद गर्न जाने गर्छन् । गुलरिया नगरपालिका–४, तुलापुरका कृषक श्रीनिवास गोडियाले पनि भारतीय सीमावर्ती बजारमा पुगेका कृषकलाई भारतीय व्यापारीले चर्को शुल्क लिने गरेको बताउनुभयो ।

बर्सेनि धान, गहुँ लगाउने समयमा कृषकको ध्यान खेतबारीमा काम गर्नेभन्दा पनि मलको जोहो गर्नमा नै बढी समयकेन्द्रित हुने गरेको छ । बर्दिया जिल्लामा मात्र असारसम्म १० हजार मेट्रिक टन युरिया मलको आवश्यक रहेको छ । गत वर्षको तथ्याङ्क हेर्ने हो भने वर्षभरिमा छ हजार ३४४ मेट्रिक टन मात्र युरिया बर्दियामा भित्रिएको देखिन्छ ।