• ८ साउन २०८२, बिहिबार

स्वास्थ क्षेत्रमा फड्को मार्दै निसीखोला गाउँपालिका

blog

नवराज नेपाली

बागलुङ (गलकोट) साउन ७ गते । बागलुङको निसीखोला गाउँपालिकामा संघीयता स्थापना भएपछि ७ वटा स्वास्थ्य संस्था थपिए । साबिकको चार गाविस मिलेर बनेको निसीखोला गाउँपालिकामा २०७२ साल अघि जम्मा चार वटा स्वास्थ्य चौकी रहेका थिए ।

तत्कालिन गाविस अन्तर्गतका देविस्थान स्वास्थ्य चौकी, बोहोरागाउँ स्वास्थ्य चौकी, निसी स्वास्थ्य चौकी र राजकुत स्वास्थ्य चौकी रहेको निसीखोलामा १० वर्षमा जनतालाई स्वास्थ्यको पहुँच विस्तार गर्दै ७ वटा आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाइ केन्द्र थपिएका छन् भने एक वटा आधारभूत  अस्पताल समेत निर्माणधीन अवस्थामा रहेको निसीखोला गाउँपालिकाले जनाएको छ । एक महिनाअघि मात्रै निसीखोला गाउँपालिका–७ स्थित कुँडुलामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । 

गाउँपालिकाले हालै कुडुँलामा सामुदायिक स्वास्थ्य सेवा इकाइ सञ्चालनमा ल्याएको छ । दुरदराजका नागरिकलाई स्वास्थ्यको पहुँच विस्तार गर्न र सात  वटै वडामा स्वास्थ्यको पहुँच विस्तार र  स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेको स्थानमा आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई थपिएको निसीखोला गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जुनि घर्तीमगरले जानकारी दिनुभयो । 

साविकको गाविसमा स्वास्थ्य चौकी रहेपनि अन्य सबै वडामा स्वास्थ्य संस्थाका लागि आधारभूत स्वास्थ्य केन्द्र थपिएको र स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेको निसेलढोर जस्ता ढाउँमा चार वटा स्वास्थ्य इकाइ स्थापना गरिएको हो । 

लामो समयदेखि जिल्लाकै धेरै प्रसुती हुने बोहोरागाउँ स्वास्थ्य चौकीको प्रमुख भएर काम गरिसक्नुभएको शाहीले स्वास्थ्यकर्मीले समेत उपकरण, प्रयोगशाला अभावमा धामी झाक्रीले जस्तो नाडी छाम्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले प्रयोगशाला अभावमा रोग पत्ता लगाउन समस्या भएपनि अहिले गाउँपालिका भित्रै तीन वटा प्रयोगशाला स्थापना भइसकेका छन् । 

“निसीखोलामा स्वास्थ्य क्षेत्रले निकै फड्को मारेको देखिन्छ, उपकरण, औषधी तथा स्वास्थ्य संस्थाकै अभावमा नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको छ, गाउँपालिका स्थापना पश्चात पालिकाले ठूलो लगानी स्वास्थ्य क्षेत्रमै गरेको छ, पालिका स्थापना पश्चात मात्रै ७ वटा स्वास्थ्य संस्था थपिएका छन् भने पालिका अस्पताल निर्माणधीन अवस्थामा छ” शाहीले भन्नुभयो “प्रयोगशालाको अभावमा हातको नाडी छामेर उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीको बाध्यता अन्त भएको छ, सामान्य रोग पालिका भित्रका तीन वटै प्रयोगशालामा पत्ता लगाउन सकिने छ ।” 

सामान्य रोग पत्ता लगाउन समेत बुर्तिबाङ पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अशिक्षा र दुर्गमताका कारण स्वास्थ्य चेतनाको समेत अभाव रहेको निसीखोलामा विस्तारै स्वास्थ्यको पहुँच विस्तारले स्वास्थ्यका सुचकहरु थपिदै गएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जीवन पुनले बताउनुभयो । पुनका अनुसार स्वास्थ्यको पहुँच विस्तारमा गाउँपालिकामा २५ जना स्वास्थ्य क्षेत्रका कर्मचारी करारमा राखेर काम गरिरहेको बताउनुभयो । 

गाउँपालिकामा अहिले ११ स्वास्थ्य संस्था, १७ खोप क्लिनिक तथा ११ गाउँघर क्लिनिक रहेका छन् । गाउँपालिका भित्र बोहोरागाउँ स्वास्थ्य चौकी, निसीखोला स्वास्थ्य चौकी र राजकुत स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना भएपछि परिक्षणकै लागि ढोरपाटन नगरपालिकाको बुर्तिबाङ आउनुपर्ने अवस्थाको अन्त्य भएको छ । 

गाउँपालिकाको वडा नम्बर १ मा देखिस्थान स्वास्थ्य चौकी, २ नम्बर वडामा तारीफाँट आधारभूत स्वास्थ्य केन्द, ३ नम्बर वडामा बोहोरागाउँ स्वास्थ्य चौकी,  ४ नम्बर वडामा थापागाउँ आधारभूत स्वास्थ्य केन्द्र, ५ नम्बर वडामा निसी आधारभूत स्वास्थ्य केन्द्र, ६ नम्बर वडामा निसी स्वास्थ्य चौकी र ७ नम्बर वडामा राजकुत स्वास्थ्य चौकी रहेका छन् । 

यस्तै विकट गाउँ रहको निसीखोलाको अन्य चार स्थानमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ । सबैभन्दा विकट गाउँ निसेलढोर,  दुर्गम स्थानहरु लेवाङ, अर्नाकोट र कुडुलामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । 

फेयरमेड परियोजनाको सहयोगमा समेत गाउँपालिका भित्र प्रयोगशाला स्थापना, बर्थिङ सेन्टर, प्रसुती प्रतिक्षा घर, गाउँखर किल्निक तथा खोप किल्निक स्तरोन्नतीमा सहजता भएको छ । सामान्य  उपाचारका लागि समेत पालिका भन्दा बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताउदै गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्तीले पालिका स्तरीय भवन निर्माण सकिएका मेडिकल अधिकृत राखेर नागरिकको उपचार गर्ने लक्ष्य रहको बताउनुभयो ।