• ७ साउन २०८२, बुधबार

ग्वारखोला रानीबास क्षेत्रमा अस्थायी पुल निर्माण

blog

ग्वारखोला रानीबास क्षेत्रमा निर्माण गरिएको अस्थायी पुल ।

गोकर्ण पौडेल 

तुलसीपुर, साउन ७ गते । रोल्पा–दाङ सडकखण्डको ग्वार खोला रानीवास क्षेत्रमा अस्थायी पुल निर्माण गरिएको छ । स्थानीयवासीको सक्रियतामा पुल निर्माण गरिएको हो । 

दाङको तुलसीपुर उपमहानगरपालिका १९  बिजौरी, श्रीचौर हुँदै रोल्पाको रुन्टीगढी होलेरी दहवन र सल्यान जोड्ने सडकको रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ र ८ बिच पर्ने रानीबास क्षेत्रमा स्थानीयले श्रमदान र आर्थिक संकलन गरी अस्थायी पुल निर्माण गरेका हुन् ।

रुन्टीगढी गाउँपालिका ८ का वडाध्यक्ष तुलसी पुनले त्यस क्षेत्रमा आवतजावत गर्नका लागि वर्षायाममा निकै समस्या झेल्नुपरेपछि अस्थायीरुपमै भएपनि पुल निर्माण गरिएको बताउनुभयो । वडाध्यक्ष पुनका अनुसार स्थानीयको दैनिक श्रमदान ,आर्थिक सहयोग र निर्माण सामग्रीबाट पुल निर्माण गरिएको बताउनुभयो ।  

वडाध्यक्ष पुनका अनुसार त्यस सडकमा अस्थायी इजाजत पत्र लिई दैनिक एक वटा बस र तीन वटा ट्याक्सी सञ्चालनमा आएका छन् भने धार्मिकस्थल स्वर्गद्वारी पुग्नका लागि दाङ उपत्यकाबाट छोटो दुरी पर्ने भएकालेसमेत भाडाका गाडी आवतजावत गर्ने गरेका छन् । 

रुन्टीगढी गाउँपालिका ८ कुर्जाकी कमला घर्तीले पुल निर्माणपछि वर्षायाममा बिरामी पर्दा निकै समस्या भएकाले तत्कालका लागि मानिस र मोटरसाइकल आवतजावत गर्नका लागि सजिलो भएको बताउनुभयो । 

रुन्टीगढी गाउँपालिका ८ हानबाङमा रहेको  बालप्राथमिक विद्यालयका शिक्षक एवम् स्थानीय बाने खड्काले त्यस क्षेत्रका स्थानीय स्वास्थ्य उपचार,बजार किनमेल र कृषिजन्य वस्तुको बिक्री वितरणका लागि दाङको बिजौरी,तुलसीपुरमा सोही सडक भएर आवतजावत गर्ने बताउनुहुन्छ । 

रुन्टीगढी गाउँपालिका ८ मा रहेको भानु आधारभूत विद्यालयका प्रधानाध्यापक भरत केसी रानीबास क्षेत्रमा पुल निर्माण पछि वर्षायाममा आवतजावत गर्नका लागि जोखिम मोल्नुपर्ने समस्या टरेको बताउनुभयो । सडकखण्डको करिब २८ किलोमिटरमध्ये तुलसीपुर १९ बिजौरीदेखि ढोरेनीसम्म ६ किलोमिटर कालोपत्रे भएको छ । 

रुन्टीगढी गाउँपालिकाको होलेरीदेखि कोवाङसम्म ५ किलोमिटर सडक कालोपत्रे भएको छ ।