• ८ साउन २०८२, बिहिबार

इलाममा मनाइयो 'गठेमङ्गल'

blog

नेवार समुदायले मनाउने सांस्कृतिक पर्व गठेमङ्गलको पूजा । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, साउन ७ गते । नेवार समुदायले मनाउने 'गठेमङ्गल' (नेवारी भाषामा गथामुग:) आज इलाममा पनि मनाइएको छ ।  

नेवारी समुदायमा गठेमङ्गललाई दुष्ट आत्मा, राक्षस, भूतप्रेत, महामारी, रोग र अराजकताविरुद्धको विजयको प्रतीक रुपमा मनाइने गरिएको छ । यो पर्व नकारात्मक शक्ति, भूतप्रेत तथा अनिष्ट शक्तिलाई भगाउने सांस्कृतिक परम्पराका रुपमा मान्ने गरिएको नेवार समुदायका अगुवाहरु बताउँछन् । 

मानिसको आकृति जस्तै  देखिने  काठको पुत्लालाई भूतको पुत्लाको रुपमा बनाइन्छ र यसलाई घरअगाडि वा चोकमा राखिन्छ । नेवारी तान्त्रिक परम्पराअनुसार भूत भगाउने मन्त्र र विधिहरू गर्ने गरिएको इलाम नगरपालिका–५ का पूर्व वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले बताउनुभयो ।

उक्त पुत्लालाई बेलुका टोलटोलमा डोर्‍याएर जलाइन्छ । यसरी जलाउँदा त्यो टोलबाट राक्षस, भूत, प्रेत हट्ने विश्वास  रहेको श्रेष्ठको भनाइ छ । ‘प्राचीन कथा अनुसार समयमा एक राक्षस गठेमङ्गल थियो, जो मानिसहरूलाई दुःख दिन्थ्यो । स्थानीयवासीहरूले उसलाई तान्त्रिक विधिबाट भगाएर उसको पुत्ला बनाएर जलाए । त्यसैको सम्झनामा यो पर्व मनाइने गरेको हो,’ श्रेष्ठले भन्नुभयाे ।

आज इलाम सदरमुकामसहित नगरपालिका-५ मा पनि नेवाः देय् दबू ले गठेमङ्गलको पुत्ला बनाई बजार परिक्रमो चोक बजारमा ठड्याएको छ । आज साँझ दोबाटोमा उक्त पुत्ला दहन गरिने जनाइएको छ ।