• ८ साउन २०८२, बिहिबार

जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु

blog

रुकुम पूर्व,  साउन ७ गते ।  रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका-५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो । 

योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । सोही परिवारका अन्य दुई जना भने गम्भीर घाइते छन् । मृतकका आमा ३५ वर्षीया रामकुमारी सुनार र उहाँकी छोरी नौ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । 

यही २ गते जङ्गलबाट ल्याइएर च्याउ खाएर बिरामी भएकामा साउन ५ गते मात्र रुकुम पूर्व अस्पतालमा आएका थिए । अस्पतालमा उपचार हुन नसकेपछि सबैलाई जिल्ला अस्पतालले ६ गते राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान दाङ पठाएको थियो । दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने बाँकी दुई जनालाई  भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ । रासस