• ७ साउन २०८२, बुधबार

रुरु धाममा फल्चा निर्माण

blog

रुरु क्षेत्र गाउँपालिका–१, रिडीमा निर्माण भएको आर्कषक फल्चा । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, साउन ७ गते । नेपालको प्रसिद्ध धाम रुरु क्षेत्रमा भरतपुर महानगरपालिका र रुरुक्षेत्र गाउँपालिकाको साझेदारीमा आकर्षक फल्चा निर्माण गरिएको छ । रुरुक्षेत्र गाउँपालिका–१, रिडीमा फल्चा निर्माण गरिएको हो । 

निलकण्ठ कन्स्ट्रक्सनले ३२ लाख २६ हजार ८९१ रुपियाँको लागतमा फल्चा निर्माणको सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । निर्माण व्यावसायीले गत माघ १० गते कामको सम्झौता गरेका थिए । 

रुरुक्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध गाँसिएको छ । सोहि सम्बन्धको कारण रुरु क्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिकाबिच ५०-५० प्रतिशत रकम साझेदारीमा रिडीमा फल्चा, विष्णु मूर्तिसहितका पर्यटकीय संरचना निर्माण गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालील बताउनुभयो । रिडी बजार र कालीगण्डकी तटीय क्षेत्रलाई केन्द्रमा राखेर संरचना निर्माण तथा पुराना संरचना संरक्षण एंवम लामाचौपारीमा ठुलो मन्दिर निर्माण कार्य समेत अगाडि बढाइएको ज्ञवालीले जानकारी दिनुभयो । 

उहाँले रुरुक्षेत्र धाम आफैँमा प्रसिद्ध भए पनि आवश्यक पर्यटकीय संरचनाहरू निर्माणको काममा आफुहरूले चासो दिएको बताउनुभयो । भरतपुर महानगरपालिकाकै सहयोगमा श्रृङ्गेश्वर धाममा पनि एक करोडको काम गरिएको गरिएको ज्ञवालीले बताउनुभयो । 

रुरुक्षेत्रमा तिन जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । जसले धार्मिक पर्यटनलाई टेवा पुर्‍याएको छ । भने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी काेरिडोर रिडी हुँदै मुस्ताङ्ग जोडिएकाले लुम्बिनी आएका धार्मिक पर्यटकलाई रुरुसँग जोडन सजिलो भएका कारण धार्मिक गन्तव्यको रूपमा रिडी अगाडी बढेको छ ।

पर्यटकीय संरचनासहित धमाधम स्तरीय होटल लगायतका व्यावसायहरू खुल्न पर्यटकहरूलाई बास बस्न, गण्डकी स्नान गर्न र धार्मिक तथा पर्यटकीय संरचनामा समय कटाउन सजिलो हुँदै गएको रुरुक्षेत्र गाउँपालिका–१, रिडीका का युवा व्यावसायी सुन्दर कसजुले बताउनुभयो । 

रुरुको गरिमासहित अहिले बन्दै गरेका फल्चा, विष्णु मुर्ति, त्रिशुल, हनुुमान बाटिका र ॠषिकेश मन्दिरले धार्मिक पर्यटकलाई थप आकर्षित गरिरहेको व्यावसायी कसजुले बताउनुभयो ।