ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन ७ गते । गण्डकी प्रदेश सरकारले म्याग्दीका लागि गएको आर्थिक वर्षमा विनियोजन गरेका ३४ वटा योजना मध्य सडक र पुल तर्फका ३३ वटा योजना सम्पन्न भएका छन् । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन भएका ३० वटा सडक, दुई वटा मोटरेबल पुल र एउटा झोलुङ्गे गरी ३३ वटा योजना सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कार्यालयले ग्रामिण सडकहरू फराकिलो पार्ने, ग्रेड तथा घुम्ति सुधार गर्ने, नाली, पर्खाल निर्माण, कालोपत्र, ढलान गर्न तथा मोटरेबल र झोलुङ्गे पुल निर्माण सम्बन्धी योजनाका लागि पूँजीगत तर्फ ५९ करोड ३१ बजेट विनियोजन भएको थियो । नौ करोड ५० लाख बजेट विनियोजन भएका सालबसाली ३७ वटा योजनाहरू मध्ये २९ वटा ठेक्का प्रक्रिया र उपभोक्ता समितिबाट तीन वटा योजना कार्यान्वयन भएका छन् ।
कार्यालयका अनुसार गएको आर्थिक वर्ष २०८१÷०८२ मा करिब ७४ प्रतिशत पूँजीगत बजेट खर्च भएको छ । पूँजीगत शिर्षकमा ६४ करोड एक लाख ४३ हजार विनियोजन भएकोमा ७३.६५ प्रतिशत प्रतिशत अथवा ४७ करोड १४ लाख ९१ हजार रुपियाँ खर्च भएको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।
चालुतर्फ एक करोड ८० लाख बजेट रहेकोमा एक करोड १३ लाख ६५ हजार अथवा ६४ दशमलब १४ प्रतिशत खर्च भएको उहाँले बताउनुभयो । समग्रमा ६६ करोड २१ लाख ४३ हजार रुपियाँ विनियोजन भएकोमा ४८ करोड २८ लाख ५६ हजार रुपियाँ अथवा ७२ दशमलब ९२ प्रतिशत खर्च भएको छ ।
कार्यालय मार्फत गएको वर्ष सञ्चालन भएका योजनाहरु मार्फत तीन दशमलब ३० किलोमिटर नयाँ कच्ची सडक निर्माण, चार दशमलब १४ किलोमिटर ग्राभेल, चार दशमलब ९० किलोमिटर कालोपत्र र ढलान, ३१ दशमलब ६० किलोमिटर सडक फराकिलो बनाउने, १० दशमलब ७२ किलोमिटर नाली र ३१ हजार २९ घनमिटर टेवा पर्खाल निर्माण भएको छ ।
यसैगरी २९ वटा कल्भर्ट कजवे, १२ दशमलब ५० किलोमिटर सडक मर्मत, एक वटा झोलुङ्गे पुल, दुई वटा मोटरेबल पुल र एक वटा भवन निर्माण सम्बन्धी योजना सम्पन्न भएका छन् । सालबसाली र पुराना योजनाको कार्यान्वयनलाई निरन्तरताका साथै म्याग्दीमा बहुवर्षीय चार वटा सडक र एक वटा झोलुङ्गे पुलको योजना कार्यान्वयन चरणमा प्रवेश भएको छ ।
पुुराना सालबसाली योजनातर्फ बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला सडकको ८७ प्रतिशत, बेनी–तोरीपानी हुँदै पाखापानी सडक आयोजनाको ५७ प्रतिशत, दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ५५ प्रतिशत, दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति योजनाको सात प्रतिशत भौतिक प्रगति भएको छ ।
दरवाङ– अदिभारा– डाडागाउँ– सोले– तमान– बुर्तीवाङ सडक योजनाको ५५ प्रतिशत, पखेर–बरङ्जा ३ र ४ हुँदै महेश–धापुङ–ताराखोला सडक योजनाको ५९ प्रतिशत, हाँडेभिर–बगरफाँट–भकिम्ली सडक योजनाको ५२ प्रतिशत र चित्रे–घोडेपानी सडकको सात प्रतिशत भौतिक प्रगति भएको छ ।
मालिका गाउँपालिकाको अदिभारा स्थित दाजुङ खोलामा २५ मिटर लामो मोटरेबल पुुल निर्माण अन्तिम चरणमा पुुगेको छ । मालिका गाउँपालिका–७, शिवरात्री स्थित मराङखोलामा सञ्चालित मोटरेबल पुल योजनाको २० प्रतिशत भौतिक प्रगति भएको छ । धवलागिरि गाउँपालिका-२, लमसुङ स्थित दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण कार्य बर्खा लगत्तै शुरु गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि वि.स. २०८२ असार ११ गते सक्षम-सिम्रन जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबिच ठेक्का सम्झौता भएको छ ।
रघुगङ्गा गाउँपालिका गलेश्वर पिप्ले भगवती हुँदै बेग जाने बाटो र भगवति–सिजलगाउँ– साझपानी –बयारीगाउँ –बेग सडक स्तरोन्नतिका लागि हिमालयन कन्ट्रक्सनसँग २०८२ असार ९ गते ठेक्का सम्झौता भएको छ ।
मालिका गाउँपालिका–२ को रुम–ताराखोला सडक योजना कार्यान्वयनका लागि २०८२ असार ४ गते सोमरस निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । घतान-९, गलेश्वर मन्दिरदेखि पुलाश्रम मन्दिर जगन्नाथ मन्दिर भएर बेनी बजार सदरमुकाम मोटरबाटो सडक स्तरोन्नतिका लागि बि.बि.पी.एल. बि.एस. डि.एस धौलागिरि छनाेट भई काम सुरु भएको छ ।
मालिका गाउँपालिका–५, थापाचौर र वडा नम्बर ६ को सात वटा बस्ती जोड्ने म्याग्दी नदी माथि ९६ मिटर लामो झोलुुङ्गे पुुल निर्माणका सोमरस निर्माण सेवास ठेक्का सम्झौता भएको हो ।