चन्द्र पन्दाक
ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङबाट गएको आर्थिक वर्षमा झण्डै चौध करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा सङ्घ तथा प्रदेश सरकार मातहतका निकाय अर्थात कार्यालयमार्फत उक्त राजस्व रकम सङ्कलन भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका सहलेखापाल नवीन खनालका अनुसार सङ्घ र प्रदेश दुवैतर्फ कुल १३ करोड ८५ लाख ८४ हजार २६७ रुपियाँ राजस्व सङ्कलन भएको छ । सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयमार्फत उक्त राजस्व रकम सङ्कलन भएको सहलेखापाल खनालले जानकारी दिनुभयो ।
खनालका अनुसार सङ्घीय सरकार मातहतका निकायमार्फत १२ करोड ९५ लाख ५३४ रुपियाँ ७६ पैसा राजस्व सङ्कलन भएको छ । सङ्घतर्फ कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत सबैभन्दा बढी पाँच करोड ९७ लाख ७० हजार ४९१ रुपियाँ राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । त्यसपछि तमोर कोरिडोर (सुभाङ खोला–दोभान–ओलाङचुङ्गोला) सडक योजनाबाट तीन करोड ६८ लाख ६६ हजार ३५६ रुपियाँ राजस्व सङ्कलन भएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट एक करोड ६८ लाख ९३ हजार ४०० रुपियाँ, कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाबाट ४४ लाख ३७ हजार ८९ रुपियाँ, ताप्लेजुङ जिल्ला अदालतबाट २० लाख ८५ हजार ५८० रुपियाँ राजस्व सङ्कलन भएको छ । जिल्ला प्रहरी कार्यालयको राजस्व १० लाख ४९२ रुपियाँ रहेको छ । त्यस्तै जिल्ला हुलाक कार्यालयबाट नौ लाख ६६ हजार २१३ रुपियाँ र मालपोत कार्यालयबाट ५५ हजार ३९९ रुपियाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै, ओलाङ्चुङगोला भन्सार कार्यालयबाट भने एक रुपियाँ राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । सीमा प्रशासन, कारागार कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय र जिल्ला सरकारी कार्यालयको राजस्व शुन्य रहेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घीय मातहतका विभिन्न २० वटा निकायबाट राजस्व सङ्कलन भएको छ ।
यस्तै प्रदेश सरकार मातहतका निकायबाट कुनल ९० लाख ८३ हजार ७३२ रुपियाँ ३७ पैसा राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेशतर्फ सबैभन्दा बढी डिभिजन वन कार्यालयबाट ७६ लाख ६८ हजार ७४५ रुपियाँ राजस्व सङ्कलन भएको छ । त्यसपछि जिल्ला अस्पतालबाट चार लाख ५५ हजार ६९७ रुपियाँ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट दुई लाख ६९ हजार ८७२ रुपियाँ राजस्व सङ्कलन भएको छ ।
प्रदेश मातहतको विभिन्न १२ वटा निकाय वा कार्यालयमार्फत राजस्व सङ्कलन भएकोमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङको राजस्व भने शुन्य रहेको छ । यता आर्थिक वर्ष सकिने दिन अध्यधिक चाप हुने हुँदा विवरण दर्तामा त्रुटी हुन सक्ने भएकाले सङ्कलित राजस्व रकम तलमाथि हुनसक्ने पनि कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।