गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ७ गते । कवि प्रकाश सापकोटाको कविताकृति ‘सन्नाटाका सुस्केरा’ लोकार्पित भएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा मङ्गलबार काठमाडौँमा आयोजित एक समारोहबिच वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारी, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, सुस्मिता नेपाल, राधेश्याम लेकालीलगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभयो ।
सो अवसराम वरिष्ठ कवि अधिकारीले कविले आफैँले आफ्नोपन खोज्ने र आफैँलाई परिमार्जन गर्नुपर्ने औँल्याउनुभयो । उहाँले कविले लेखेको मनस्थितिमा पाठक पुगेन भने कविता सफल नहुन सक्छ भन्दै कवि सरल हुनुपर्ने र प्रकाशका कवितामा त्यो सरलपन रहेको बताउनुभयो ।
प्रकाशका कविता उहाँ जस्तो हुनु पर्छ भन्दै वरिष्ठ साहित्यकार श्रेष्ठले भन्नुभयो, “सृजनामा आफ्नोपन हुनु जरुरी छ । सापकोटामा त्यो आफ्नोपन छ ।” कृतिमाथि सञ्चारकर्मी एवं कवि ठाकुर बेलवासे, यादव भट्टराईलगायतले चर्चा गर्नुभयो ।