• ७ साउन २०८२, बुधबार

आन्तरिक उत्पादन बढाउन प्रमको आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई औद्योगिकीकरणमा लैजाने गरी देशभित्रै उत्पादन बढाउनेतर्फ केन्द्रित हुन आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घको नवनिर्वाचित पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “सामान आयात गरी नाफा आर्जन गर्नेतर्फ भन्दा देशमै उत्पादन बढाई निर्यात गर्नेतर्फ ध्यान दिनु पर्छ ।” 

उहाँले भन्नुभयो, “यसका लागि सरकारले कानुनी एवं नीतिगत सुधार गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजिरहेको छ ।” भान्सामा प्रयोग हुने वस्तुदेखि अन्य वस्तु नेपाली होऊन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी वस्तु उत्पादन र प्रयोगले मात्रै आयात प्रतिस्थापन गर्न सकिने बताउनुभयो ।

प्रधानमन्त्रीसँगको छलफलमा परिसङ्घका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसङ्घले सरकारसँगको सहकार्यमा आयात प्रतिस्थापन गर्ने उद्देश्यले मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरिरहेको बताउनुभयो । 

परिसङ्घले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार एक सय अर्ब डलर र दोहोरो अङ्कको आर्थिक वृद्धि गराउने लक्ष्य राखेको र यसका लागि आठ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको उहाँले बताउनुभयो । यसका लागि सरकारले कानुनी एवं नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

नेपाल उद्योग परिसङ्घको नवनिर्वाचित पदाधिकारीले मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्त अधिकारीसँग भेटघाट तथा आर्थिक विषयवस्तुमा छलफल गरेको हो । मङ्गलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको परिसङ्घ अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले दिउँसो प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा गृहमन्त्री रमेश लेखकलगायत विभिन्न मन्त्री तथा संसदीय समितिका सभापतिसँग औपचारिक भेटघाट तथा छलफल गरेको हो ।

सभामुख देवराज घिमिरेसँग भेटमा टोलीले निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने गरी कानुन ल्याउन आग्रह गरेको थियो । परिसङ्घ पदाधिकारीसँगको छलफलमा पूर्वप्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँग बलियो सहकार्य नगरेसम्म अर्थतन्त्र बलियो नहुने बताउनुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा वा नहुँदा पनि निजी क्षेत्रका मुद्दालाई उच्च प्राथमिकता दिएको बताउनुभयो । 

परिसङ्घले गृहमन्त्री रमेश लेखक, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलसँग छुट्टाछुट्टै भेट गरी अर्थतन्त्रको वर्तमान अवस्था, कानुनी एवं नीतिगत सुधार, बजेटको प्रभावकारी कार्यान्वयनलगायतका विषयमा छलफल गरेको छ । 

गृहमन्त्री लेखकसँग टोलीले सीमानाकाबाट हुने अवैध आयात रोक्न थप पहल गर्न आग्रह गरेको छ । गृहमन्त्री लेखकले नेपाल र भारत सरकारका गृह सचिवस्तरीय बैठकले सीमाक्षेत्रमा हुने अवैध कारोबार रोक्ने उपायका विषयमा छलफल गर्ने बताउनुभयो । ऊर्जामन्त्री खड्काले विद्युत् व्यापारका लागि निजी क्षेत्रसमेत खुला गर्ने तयारी सरकारले गरिरहेको बताउनुभयो । 

उद्योगमन्त्री भण्डारीले निजी क्षेत्रको मनोबल बढाउन अझै धेरै काम गर्नुपर्ने उल्लेख गर्दै सरकारले कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । मन्त्री भण्डारीले औद्योगिक पूर्वाधार निजी क्षेत्रले बनाउनुपर्नेमा समेत जोड दिनुभयो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले मन्त्रालयले गत आवमा पुँजीगत खर्च बढाउन सफल भएको भन्दै समग्र आर्थिक विकासका लागि आवश्यक नीति निर्माणका लागि मन्त्रालय सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

छलफलमा उपाध्यक्ष राजबहादुर शाह, हेमराज ढकाल, अमित मोर, भीम घिमिरे, गोकुल भण्डारी, पदाधिकारी सदस्य सन्दीप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।