• ७ साउन २०८२, बुधबार

क्यालिफोर्नियामा मनाइयो बिपी स्मृति दिवस

blog

विश्वेश्वरप्रसाद कोइरालाको ४३ औं स्मृति दिवसमा आयोजना गरिएको कार्यक्रमका सहभागी ।

लस एन्जल्स, साउन ६ गते । अमेरिकाको क्यालिफोर्नियामा विविध कार्यक्रममा साथ विश्वेश्वर प्रसाद कोइरालाको ४३ औं स्मृति दिवस मनाइएको छ।

नेपाली जनसम्पर्क समिति अमेरिका क्यालिफोर्निया च्याप्टरले खेलकुद, सांस्कृतिक कार्यक्रम तथा पिकनिकको आयोजनाका साथ बिपी स्मृति दिवस मनाएको हो। च्याप्टर सभापति मदन पाठकको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि आनन्द विष्टले बिपीको योगदानबारेमा चर्चा गर्नुभयो । उहाँले नेपालको राजनीति बिपी पथमा चल्दा जनताको अभीष्ट छिट्टै पूरा हुने बताउनु भयो । 


आजभन्दा ५० वर्षअघि बिपीले विश्वभर छरिएर रहेका नेपालीलाई एकता सूत्रमा बाँध्ने उद्देश्यका साथ भारतमा पहिलो पटक जनसम्पर्क समितिको स्थापना गरेको विष्टले स्मरण गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘बिपीमा मेलमिलापको सिद्धान्त थियो। उहाँको त्यही भावनाले विश्वभरका नेपालीलाई एकताबद्ध गर्न जनसम्पर्क समितिको अवधारणा ल्याउनु भएको थियो । हाल विश्वका ३८ देशमा कांग्रेसको जनसम्पर्क समिति छ। अमेरिकाका ३७ राज्यमा च्याप्टर छ र यसले बिपीको उद्देश्य अनुरुप काम गरिरहेको छ ।’’

नेपाललाई र नेपालीलाई कुनै गाह्रोसाह्रो पर्दा विश्वका विभिन्न देशका जनसम्पर्क समितिहरूले सहयोग गर्दै आएको चर्चा गर्दै उहाँले आपसी एकता र मुलुकको हितका लागि बिपीले देखाएको बाटोमा हिँड्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । 

कार्यक्रममा आर्टिसिया सिटी, लस एन्जल्सका मेयर अली सज्जाद, त्रिविका पूर्व उपकुलपति डा. तीर्थराज खनिया, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय, एनफा अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेता सुदेश भट्टलगायतको उपस्थिति थियो।

यस्तै प्रमुख अतिथि विष्टले च्याप्टर सभापति पाठक, नेता नबीन पोखरेल, कार्यक्रम संयोजक राजेश निरौलालगायतले लस एन्जल्समा वर्सेनि यस्ता कार्यक्रम गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।